काठमाडौं। औद्योगिक घराना गोल्यान ग्रुप स्थापनाको ६५ वर्ष पुगेको छ। किसान उब्जनीको बजार देख्ने, बेरोजगारीमा रन्थनिएका युवाको आँखामा सपनाको बिजारोपण र ‘अतिथि देवो भवः’को नेपाली संस्कृतिलाई आत्मसात गर्ने। विगत ६५ वर्षदेखि मुलुकभित्रका तमाम सम्भावना उजिल्याउने काम गरेको छ, गोल्यान ग्रुपले।
गाेल्यान ग्रुपले एउटा क्षेत्रमा मात्रै होइन, कयौं क्षेत्रमार्फत मुलुकको समृद्धि यात्रामा खुड्किला थपिरहेको छ। सन १९६० देखि मुलुकको प्रमुख घरानाका रुपमा स्थापित गोल्यान ग्रुपले देशभर २५ बढी व्यवसाय सञ्चालन गर्दै आएको छ। कृषि, नवीकरणीय ऊर्जा, रियलस्टेट र आतिथ्य सत्कार क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको गोल्यान समूहले वार्षिक ४०० मिलियन अमेरिकी डलर बढी आम्दानी गर्दै आएको छ।
गोल्यान ग्रुपले सौर्य ऊर्जामार्फत मुलुकलाई समृद्धिको पथमा सयर गराउने संकल्प गरेर पियोर इनर्जी नामक कम्पनीमार्फत सौर्य आयोजनाबाट बिजुली बालिसकेको छ। यति मात्रै होइन, पियोर इनर्जीमा सर्वसाधारणले समेत लगानी गर्ने अवसर पाएका छन्।
स–सानो लगानी एकीकृत गर्दै मुलुकको समृद्धिमा सबैलाई साझेदार बनाउने संकल्पका साथ काम गरिरहेको गोल्यान समूहले सोहीअनुरुप कम्पनीलाई पब्लिक लिमिटेड बनाएको छ। ‘पावरिङ होम्स, पावरिङ फ्युचर’ नारासहित अरु सौर्य परियोजना पनि निर्माण चरणमा छन्।
गोल्यान समूहले मुलुकको समृद्धिका रुपमा हेरिएको जलविद्युत् क्षेत्रमा पनि आफ्नो मजबुत उपस्थिति जनाउँदै छ। बढ्दो इन्धन परनिर्भरता हटाउँदै आफ्नै देशको जलस्रोत उपयोग गरेर दीर्घकालीन रुपमा इन्धन समस्या समाधान गर्न गोल्यान समूहले ‘फ्युलिङ नेपाल्स फ्युचर सस्टेनब्ली‘ नारासहित जलविद्युत् क्षेत्रमा लगानी बढाइरहको छ।
यसबाट इन्धनमा मुलुकले बेहोरिरहेको परनिर्भरता हटाउन महत्त्वपूर्ण इँटा थप्ने विश्वास समूहको छ। ‘अतिथि देवो भवः’ नेपालको आफ्नै मौलिक आतिथ्य संस्कृति हो। यसैलाई विश्वव्यापी बनाउने अभियान पनि गोल्यान समूहले थालनी गरेको छ।
यसका लागि समूहले हस्पिटालिटी क्षेत्रमा लगानी र रोजगारी बढाइरहेको छ। काठमाडौंमा भव्य पाँचतारे ‘ह्याट सेन्ट्रिक होटल’ सञ्चालनमा ल्याएको समूहले भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा पनि होटल बनाउँदै छ। देशका अन्य भू–भागमा पनि यसको विस्तारका लागि समूहले अध्ययन गरिरहेको छ।
गोल्यान समूह भन्नासाथ छुटाउनै नहुने नाम हो– ‘रिलायन्स स्पिनिङ मिल्स’। नेपालमा सबैभन्दा धेरै रोजगारी दिने यो उद्योग सबैभन्दा ठूलो निर्यातमूलक पनि हो। उद्योगले दुईपटक सीआईपी सम्मानसमेत हात पारिसकेको छ।
मुलुकमा आयात बढेर व्यापार घाटा चुलिएका बेला नेपालमा उत्पादित धागो विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिरहेको उद्योग केवल गोल्यान समूहको ब्यापारिक प्रतिष्ठान मात्रै होइन, नेपालकै लागि गौरव र प्रतिष्ठाको विषय हो। यो उद्योगमा ४ हजारले रोजगारी पाएका छन्, जसमा अधिकांश महिला छन्।
यसैगरी नेपालका कुना–कन्दरामा किसानले फलाएका उब्जनीले बजार नपाइरहेका बेला गोल्यान समूहले सुदूरका गाउँ–गाउँबाट उत्पादन संकलन गरेर बजार पुर्याउँदै आएको छ। त्यो पनि नेपालमा मात्रै होइन, विश्व बजारमा समेत जान्छ।
रामेछापमा फलेको किबी होु् वा जुम्लामा फलेको स्याउ, कोसीमा फलेको चिया होस् वा कर्णालीको गेडागुडी। यी सबै स्थानीय र अर्गानिक उत्पादनलाई गोल्यान समूहले ‘माटो’ ब्रान्डमार्फत नेपालीका भान्छा–भान्छा पुर्याइरहेको छ। यति मात्रै होइन, विश्व बजारमा नेपाली रैथाने स्वाद पनि पस्किरहेको छ।
गोल्यान समूहले विभिन्न क्षेत्रमा लगानी विविधीकरण गरेर १० हजार जनशक्तिलाई स्वदेशमै रोजगारी दिएको छ। यो आँकडा चानचुने होइन। यो त ६५ वर्षदेखि गोल्यान समूहले देखेको सपना। त्यसलाई साकार पार्दै जाँदा पवनकुमार गोल्यानले गरेको संघर्षसहित हाल अक्षय गोल्यानको नेतृत्वसम्म आइपुग्दा ग्रुपले गरेको संकल्पबाटै सम्भव भएको हो।
गोल्यान समूहले स्थापनाको ६५ वर्ष प्रवेश अवसरमा माथि उल्लिखित सबै क्षेत्र समेटेर ‘ब्रान्ड फिल्म’ सार्वजनिक गरेको छ। फिल्ममा सौर्य ऊर्जाबाट उज्यालो पाएका बच्चादेखि उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर कारखाना मजदुरसम्मका कथा समेटिएका छन्।
गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन। यो ती मानिसबारे हो, जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ। जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्याएका छौं । यो साझा प्रगतिको कथा हो, जसको हामी गर्विलो हिस्सा हौं।’
नाफाभन्दा माथि उठेर मानिसलाई सशक्त बनाउने, जीविकोपार्जन सुधार्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ उद्यम खडा गर्दै आएको गोल्यान समूहलाई साँचो अर्थमा ‘विकासका लागि गोल्यान ग्रुप’ भन्न सकिन्छ।
गोल्यान ग्रोथ
गोल्यान ग्रुप र यस समूहको नेतृत्वले धेरै सम्मान र पुरस्कारबाट सम्मानित भइसकेको छ। यसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारद्वारा २०२५ र २०२० मा ‘महत्त्वपूर्ण व्यवसासियक व्यक्ति (सीआईपी) अवार्डसमेत समावेश छ।
यो समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यात पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२)लगायत अन्य धेरै सम्मान प्राप्त गरेको छ। यी सबै सम्मानले मुलुकको आर्थिक विकासमा गोल्यान समूहले सक्रियतापूर्वक वहन गरिरहेको सकारात्मक भूमिकालाई सगौरव दर्शाउँछन्।