काठमाडौं। नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतमा हस्ताक्षर भएको छ।
नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमेरा मुनासिंघेको उपस्थितिमा भएको जुम मिटिङमार्फत नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्सका एम. शिहम मारिकर (महासचिव÷प्रमुख कार्यकारी अधिकृत)बीच हस्ताक्षर भएको हो।
सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखिन्।
यस्तै, आगामी सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा हुने इन्डष्ट्रियल एक्स्पोमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएका छन्। आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधि समझदारी भएको छ।
दुई मुलुकबीच सेवा र औद्योगिक सहयोग बढाउने सम्झौता भएको हो।
सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एकअर्काको मुलुकमा व्यक्तिगत एवं सामूहिक भ्रमण गर्न सक्नेछन्।
व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहको आदानप्रदानका साथै व्यापार प्रवर्द्धनका सम्भाव्य गन्तव्यबारे थप छलफल गरिने सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा दुई मुलुकबीच व्यापार, लगानी र औद्योगिक सहयोगको मात्रा बढाउने माध्यमको खोजी गर्ने उल्लेख छ। साथै एकअर्काको देशमा व्यापार मेला, प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गरिनेछ।