काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका छन्। ट्रम्पले पुटिनसँगको बहुप्रतीक्षित भेटघाट आगामी शुक्रबार, अगस्त १५ मा अमेरिकाको अलास्काको ग्रेट स्टेटमा हुने जानकारी दिएका हुन्।
अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटघाटको घोषणापछि रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने, ’रुस र अमेरिका नजिकका छिमेकी हुन्, जसले एकअर्कासँग सीमा साझा गर्छन्। दुई देशका नेताहरूबीचको यस्तो महत्त्वपूर्ण र प्रत्याशित शिखर सम्मेलन अलास्कामा हुनु राम्रो हो।’
अलास्कापछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ र यसको लागि निमन्त्रणा पहिले नै दिइसकिएको छ। यसअघि २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुस भ्रमण गरेका थिए। ट्रम्प र पुटिनबीचको यो भेटवार्ता युक्रेन युद्धमा केन्द्रित हुने बताइएको छ।
अमेरिकाले युक्रेनमा युद्धविराम सम्झौतामा सहमत हुन रूसी राष्ट्रपतिलाई समयसीमा तोकेको समयमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुन लागेको हो। केही दिनअघि मात्र ट्रम्पका विशेष दुत स्टिभ विटकफले मस्को पुगेर पुटिनसँग छलफल गरेका थिए।
भेटवार्ताबारे युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।
ट्रम्पले युक्रेनसँग युद्धविराम गर्न पुटिनलाई दिएको समयसीमा सकिनै लाग्दा दुई नेताबीच भेट तय भएको हो। यद्यपि, अन्तर्राष्ट्रिय सञ्चार माध्यमले युक्रेनमाथि आक्रमण गरेपछि विश्वबाट वहिष्कृत भएका पुटिनले ट्रम्पलाई अल्झाउन वार्ताको रणनीतिमा फसाउन लागेको लेखेका छन्।–एजेन्सी