काठमाडौं। भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
‘प्रहरी जस्तै रङ र लोगो’ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँदिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ।
प्रहरीका अनुसार अभियुक्तले नक्कली कागजात र प्रमाण पत्र बनाएका थिए। पीडितबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए। उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइसँग सम्बद्धता रहेको दाबी गरेका थिए।
‘अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए,’ प्रहरीले भन्यो। प्रहरीले धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्र बरामद गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीनजिकै भाडाको घरबाट नक्कली दूतावास चलाएको र विदेशमा रोजगारी दिने वाचा गरेर जागिर खोज्नेलाई पैसा ठग्ने आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको केही हप्तापछि यो पक्राउ गरिएको हो।
अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो। ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो।