काठमाडौं। युक्रेनबिना गरिने कुनै सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली संघका विदेश मन्त्रीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन्।
तीन वर्षदेखि जारी युद्ध समाधानका लागि दुई नेताबीच शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ। तर, युरोपियन युनियन (इयू)ले द्वन्द्व अन्त्यका लागि हुने कुनै पनि सम्झौतामा किएभ र युरोपेली शक्ति सहभागी हुनुपर्नेमा जोड दिएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिना अमेरिका र रुसबीच बैठक गर्ने विचारले यो सम्झौताका लागि किएभले आफ्नो भाग छोड्नुपर्ने चिन्ता बढाएको छ। जसलाई इयूले अस्वीकार गरेको छ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाको उपस्थितिमा सोमबार स्थानीय समयअनुसार दिउँसो २ बजे भिडियो लिंकमार्फत हुने बैठकमा इयूका विदेश मन्त्रीले आगामी कदमबारे छलफल गर्ने छन्।
युरोपेली नेताहरूले युक्रेनलाई वार्तामा भाग लिनका लागि सप्ताहन्तमा कडा दबाब दिएका थिए। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत र फिनल्यान्डका नेता तथा इयू कमिसनका प्रमुख उर्सुला भोन डेर लेयेनले एक संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन्।
जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार शिखर सम्मेलनमा जेलेन्स्की सहभागी हुने आशा व्यक्त गरेका छन्। युद्ध अन्त्यका लागि वार्ता युद्ध विरामको समयमा मात्र हुन सक्ने उनीहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार अमेरिकाले ट्रम्प र उनका रुसी समकक्षीबीच हुने बैठकमा किएभको प्रतिनिधित्व गरी तालिका तयार गर्ने पहल अमेरिकाले गरिरहेको बताएका थिए।