काठमाडौं। युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच तीन घन्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अलास्का वार्ताको मूल मुद्दा रुस र युक्रेनबीच चलिरहेको युद्ध कसरी अन्त्य गर्ने भन्ने रहे पनि त्यसबारे दुवै नेताले केही नबोलेपछि वार्ता उपलब्धिमूलक नभएको ठानिएको हो।
भेटपछि पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले केही मुद्दामा सहमति नभएको बताए। ’हामी दुई देशबीच मित्रता चाहन्छौं। पुटिनसँगको भेट सकारात्मक रह्यो,’ उनले भने।
वार्तापछि ट्रम्प र पुटिनले मिडियालाई सम्बोधन गरे तर, पत्रकारले सोधेको प्रश्नको उत्तर दिएनन्। आगामी भेट मस्कोमा हुने ट्रम्पले बताए।
पुटिनले वार्तामा धेरै गहन कुराकानी भएको बताए। तर, के भएको हो, त्यसबारे जानकारी दिएनन्।
छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि विश्व मञ्चबाट वहिष्कृत भएका पुटिनले पहिलोपटक अमेरिकी राष्ट्रपतिलाई भेटेका हुन्।
रुस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न दुई नेताबीच अलास्काको एल्मेन्डोर्फ–रिचर्डसन सैन्य अड्डामा बैठक भएको हो। यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै अन्तिम सहमति हुन सकेन।
संयुक्त पत्रकार सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक धेरै उपयोगी भएको बताए। ‘हामीले धेरै मुद्दामा सम्झौता गर्यौं। केही ठूला कुरा छन्, जुन हामी अहिलेसम्म पुगेका छैनौं। तर, केही प्रगति गरेका छौं,’ उनले भने।
ट्रम्प र पुटिन २०१९ पछि पहिलोपटक आमनेसामने भेटेका हुन्। अलास्का पुग्दा पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो।
लाखौं युक्रेनी नागरिकको हत्या आरोप लागेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएपछि विश्वभरबाट आलोचना गरिएको छ।–एजेन्सी