काठमाडौं। सामान्यतया सेप्टेम्बर महिनादेखि नेपालमा पर्यटकीय सिजन सुरु भएको मानिन्छ। वर्षात सकिँदै हिउँद सुरुवातको रुपमा लिइने सेप्टेम्बरपछि नेपालमा विदेशी पर्यटकहरुको आगमण सुरु हुन्छ।
खासगरी पदयात्राका लागि सेप्टेम्बरदेखि विदेशी पर्यटकहरु नेपाल आउने गर्छन। तर, पछिल्लो केही वर्षयता वर्षातको मौसममा पनि विदेशी पर्यटकहरुको आगमन बाक्लिएको थियो। यो वर्ष विगतको तुलनामा होटलको अकुपेन्सी केही घटेको व्यवसायीहरुको भनाइ छ।
पाँचतारे होटल म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले होटलको अकुपेन्सी ४० देखि ५० प्रतिशतमा सिमित रहेको बताए। ‘नेपालमा अफ सिजन भन्ने हुँदैन। वर्षातको समयलाई अफ सिजन भनेर भाष्य निर्माण गरिदिएको छ,’ उनले भने, ‘भारतीय पर्यटकहरुको आगमन केही बढे पनि होटलको अकुपेन्सी भने खस्किएको छ।’
असारदेखि साउन अन्तिमसम्म भारतीय पर्यटकहरुको आगमन केही बढेको थियो। खासगरी भारतीय बोर्डर क्षेत्रमा रहेका होटलसहित पोखरालगायतका क्षेत्रमा भारतीय पर्यटकको बाक्लो उपस्थिति थियो। जसका कारण काठमाडौं उपत्यका बाहिर सीमा क्षेत्रका होटलमा राम्रै चहलपहल भएको व्यवसायीहरुको भनाइ छ।

सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले नेपालगन्ज, भैरहवालगायतका क्षेत्रमा रहेका होटलहरु वर्षातको समयमा भरिभराउ भएको बताए। काठमाडौं उपत्यकाभित्रका होटलमा पर्यटकको आगमन सन्तोषजनक नदेखिएको उनले बताए।
होटल एशोसिएसन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले तारे होटलहरुको अकुपेन्सी दयनिय अवस्थामा पुगेको बताए। वर्षातको समय भएकाले पर्यटकको आगमन घटेको र होटलमा प्रतिस्पर्धा बढेकाले पनि अकुपेन्सीमा कमी आएको उनको भनाइ छ। ‘विगतको तुलनामा तारे होटलहरुको अकुपेन्सी निकै घटेको छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘पर्यटकीय सिजन सुरु हुन लागेको छ। बढ्ने अपेक्षा राखेका छौँ।’
सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो। सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ जना विदेशी पर्यटक नेपाल आएका थिए।