काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) सिमरामा उद्योग स्थापनामा व्यवसायीको आकर्षण बढेको छ। बाराको सिमरामा रहेको सेजमा ‘ए’ प्लटमा मात्र हाल १३ वटा उद्योग लागेको छ। तीमध्ये चार वटा सञ्चालनमा आइसकेको छ भने ९ वटा निर्माणधीन अवस्थामा छ।
भारतीय नाकानजिकै रहेको र कच्चा पदार्थ आयात गर्न नजिक हुने भएकाले सिमरा सेजमा व्यवसायीहरुको आकर्षण बढेको हुन सक्ने सिमरा सेजका सूचना अधिकारी तुलसीराम मरासिनीको भनाइ छ।
हाल सिमरा सेजमा विद्युतीय किचेन सामाग्री उत्पादन गर्ने बालाजी मनुफेक्चारिंग प्रालि, ग्रेनाइटग्रानी स्लाब उत्पादन गर्ने लक्ष्मी ग्रेनाइट, सेरामिक उत्पादन गर्ने पशुपति सेरामिक, प्लास्टिक बोर्ड उत्पादन गर्ने बायो कम नेपाल सञ्चालनमा रहेको छ।
यस्तै, निर्माणधीन अवस्थामा मसलासम्बन्धि उत्पादन गर्ने मा. तारा एक्पोर्ट इम्पोर्ट, सेरामिक उत्पादन गर्न नेपोभिट सेरामिक, मेडिकल उपकरणसम्बन्धि उत्पादन गर्ने आरएस बायोटेकनोलोजी एण्ड इन्जिनियरीङ, कस्मेटिक उत्पादन गर्ने केम्याक हिमालयन, विभिन्न परिकारको तेल प्रशोधन गर्ने इन्डिगो, बेल्चा उत्पादनका लागि नेपाल एग्रो टुल, ब्याट्रीहरु उत्पादन गर्ने साउद एसिया ब्याट्रि, ग्रेनाइट उत्पादन गर्ने रेन्बो ग्रेनाइट, केमिकल उत्पादन गर्ने आरएस इन्डसट्रिज उद्योग रहेको छ।
सिमरा सेजका सूचना अधिकारी मरासिनीका अनुसार निर्माणधीन उद्योगहरु अन्तिम चरणमा पुगेका छन्। केही वर्षभित्रै उत्पादनमा जाने गरी काम भइरहेको छ। हाल सिमरा सेजमा रहेको ‘ए’ प्लट पूर्ण रुपमा भरिएपछि अहिले ‘बी’ प्लटका लागि टेण्डर आह्वान गरिएको उनले जानकारी दिए।
भाडासमेत घट्यो
सिमरा सेजले अहिले भाडासमेत घटाएको छ। व्यवसायीहरुलाई सहज बनाउनका लागि अहिले भाडा घटाएर टेण्डर गरिएको सूचना अधिकारी मरासिनीको भनाइ छ। यसअघि वार्षिक प्रतिस्क्वारफिट २० रुपैयाँ रहेकोमा अहिले घटाएर ५ रुपैयाँ बनाइएको उनले बताए। एउटा प्लट २७ हजार स्क्वारफिटको रहेको छ। सिमरा सेजमा हाल ४ वटा प्लटहरु रहेको छ।
व्यवसायहरूलाई कर प्रोत्साहन, भन्सार महसुल छुट र सुव्यवस्थित नियामक प्रक्रिया जस्ता अनुकूल अवस्थाहरू प्रदान गरेर विशेष गरी उत्पादन क्षेत्रमा औद्योगिकीकरणलाई बढावा दिन सेजको स्थापना गरिएको हो।
सेजमा औद्योगिक सञ्चालनलाई सहयोग गर्न र लगानीको लागि आकर्षक स्थान बनाउन डिजाइन गरिएको सडक, बिजुली र पानी आपूर्ति जस्ता आवश्यक पूर्वाधारहरू समावेश गरिएको हुन्छ।
सिमरा विशेष आर्थिक क्षेत्र रणनीतिक रूपमा सडक र हवाई सम्पर्कसहित यातायात सञ्जालमा राम्रो पहुँच भएकाले धेरै लगानीकर्ताहरु आकर्षित भएका हुन्। पूर्वपश्चिम राजमार्गको नजिकसँगै स्वदेश तथा विदेशमा व्यापारका लागि सहज हुने भएकाले पनि अन्य ठाउँको तुलनामा सिमरामा आकर्षण बढेको सूचना अधिकारी मरासिनीको भनाइ छ।