काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको महासंघले जनाएको छ।
नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी)को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए।
उनले जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए।
जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकोले कतारी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे। ‘नेपालमा धेरै क्षेत्रमा लगानीे अवसर छ। कतारी लगानीकर्तालाई जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीका लागि आग्रह गर्दछु’, उनले भने।
ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रुपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्ममा ज्ञान आदानप्रदान प्रस्ताव गरे।
सो अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए। उनले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यसप्रकारका भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
यसैबीच महासंघ अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन्।
दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष कतार केन्द्रित लगानी सत्र आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए।