काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सुदूरपश्चिममा आगामी मंसिर १ र २ मा हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचारप्रसारलगायतका विषयमा सहयोग गर्न लागेको हो।
जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री तथा प्रदेश योजना आयोगका सदस्यसहितको छलफलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलनका लागि पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ। उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक स्रोतको अथाह सम्भावना रहेका छन्। नीतिगत सुधार भयो भने निजी क्षेत्र आफैं लगानी गर्न आउँछ। प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीति बन्न आवश्यक छ, पानी र लगानी एउटै प्रकृतिको हुन्छ, जता ओरालो रहन्छ उतै बग्ने गर्दछ।’
सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सुदूरपश्चिम प्रदेशमा जलविद्युत्, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा उच्च सम्भावना रहेको छ।
पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अध्यक्ष अग्रवालले बताए।
लगानी सम्मेलनमा नीति तथा लगानीमैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्त्वपूर्ण रहेको भन्दै सहकार्यका लागि प्रस्ताव गरे। उनले प्रदेशमा पहिला आन्तरिक लगानी वातावरण तय गरेर मात्रै बाह्य लगानीका लागि सरकारले पहल गर्ने बताए।
प्रदेशमा लगानीको अथाह सम्भावना रहेको बताउँदै मुख्यमन्त्री शाहले रोजगारी सृजना र छिमेकी देशको बजारमा सुदूरपश्चिमको उत्पादन पुर्याउने लक्ष्य रहेको जनाए।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बाँझो जमिनलाई सदुपयोग गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। विदेशबाट सीप सिकेर फर्किएका युवाको लगत संकलन गरी प्रदेश सरकारले लाभ लिन सक्नुपर्ने उनको भनाइ छ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले प्रदेशमा जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमशृंङ्खला, बैजनाथ धाम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता स्थलले इको–टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानी अवसर रहेको अध्यक्ष अग्रवालले धारणा व्यक्त गरे।