काठमाडौं। झापा इनर्जीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले सामूहिक लगानी कोषलाई २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएर बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको हो।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशतले आउने ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको छ।
सामूहिक लगानी कोषलाई २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता आईपीअीओ सुरक्षित गरी बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो। सर्वसाधारणले आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर सिंगल बी माइनस रेटिङ दिएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। बिक्री प्रबन्धकसँगै लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर अनलाइमार्फत पनि आवेदन दिन सकिनेछन्।