काठमाडौं। अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन्।
यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिए। पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताए।
प्रस्तावित सम्झौतालाई उद्धृत गर्दै अराघचीले एक्समा लेखेका छन्, “इस्लामाबादको पहलमा भएको यो सम्झौता प्रस्ताव अहिलेसम्मकै सबैभन्दा धेरै विषयमा सहमति नजिक पुगेकोे सहमति हो।”
अराघचीको पोष्टको केही मिनेटपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा उक्त पोस्ट पुनः पोस्ट गरेका थिए। यसले प्रस्तावित सम्झौताका सर्तहरूमा मतभेदका बाबजुद वार्ता सही दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ।
राष्ट्रपति ट्रम्पले सम्झौता पूरा हुने विश्वास व्यक्त गरेको भोलिपल्ट अराघचीको यो टिप्पणी आएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भर्खरै इरानसँग युद्धका विषयमा ठूलो सम्झौता गरेको भन्दै सम्झौतामा हस्ताक्षर हुन केही काम मात्र बाँकी रहेको सङ्केत गरे।
ट्रम्पले पत्रकारहरुसँग भने, “अब केवल कागजातलाई अन्तिम रूप दिन मात्र बाँकी छ। अबको केही दिनमा यो काम सम्पन्न गरिसक्नुपर्छ।” शुक्रबार इरानी विदेशमन्त्री अराघचीले मिडिया संगठनहरू र विश्लेषकहरूलाई वार्ता पूरा नभएसम्म सम्झौताको सामग्रीको बारेमा अनुमान नगर्न आग्रह गरे।
उनले भनेका थिए, “जबसम्म यसको अन्तिम निर्णय हुँदैन, तबसम्म मिडियाले यसको सामग्रीको बारेमा अड्कलबाजी गर्नबाट टाढा रहनु पर्छ।” उनले प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गरे।