काठमाडौं। यस वर्षको दसैंमा चिनीको समस्या नहुने र मूल्य नियन्त्रणमै रहने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ। विगत वर्षमा चाडपर्वको समयमा चिनीको अभाव हुने र मूल्य अकासिने समस्या आउँदो दसैंमा नहुने विभाग तथा सरकोकारवालाले दाबी गरेका हुन्।
विभागसँग चिनीको मौज्दातसम्बन्धी कुनै ठोस तथ्यांक छैन। विभागका महानिर्देशक रोशन ज्ञवालीले उद्योगीसँगको छलफलमा चिनीको मौज्दात पर्याप्त रहेको जानकारी पाएको बताएका छन्। ‘हामीले सम्बन्धित निकायसँग छलफल गरेका छौँ। उहाँहरुले चिनीको मात्रा पर्याप्त मात्रामा रहेको बताउनु भएको छ। त्यसैले मूल्य वृद्धि र चिनी अभाव हुँदैन,' उनले भने।
दसैं र नयाँ सिजन सुरु नहुँदासम्म चिनीको कुनै पनि अभाव नहुने व्यवासायीको दाबी छ। बजारमा चिनीको मौज्दात पर्याप्त हुने बताइएको छ। बजेटमा १५ प्रतिशत भन्सार शुल्क लागेपछि वैध र अवैध दुवै तरिकाबाट चिनीको आयात बढेको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन्। ‘हामी कहाँ करिब ३०/३५ हजार टन चिनी छ,’ अग्रवालले भने, ‘अर्को नयाँ आउने सिजनसम्म चिनीको कुनै पनि सर्टेज हुँदैन।’
अग्रवालले चिनीको मूल्य सामान्य वृद्धि हुन सक्ने संकेत गरेका छन्। चिनी उत्पादन भएको करिब ९ महिना भइसकेकाले त्यसको बैंक ब्याज, गोदाम भाडा र बिमा खर्चका कारण मूल्य केही बढ्न सक्ने उनको भनाइ छ। तर, खुद्रा मूल्य एक सय रुपैयाँको हाराहारीमा मात्र रहने उनको अनुमान छ। ‘हाम्रो पनि के लक्ष्य छ भने एक सय रुपैयाँभन्दा बढीमा किन्नु हुँदैन। अब सय रुपैयाँको हाराहारीमा हुन्छ,’ उनले भने।
खुल्ला बजार प्रतिस्पर्धा हुने भएकाले नेपालमा दसैंका बेलामा चिनीको मूल्य बढाएर व्यापारीले कालो बजारी गर्ने सम्भावना रहन्छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका एक अधिकारीका अनुसार आन्तरिक उत्पादनका चिनी र आयातित चिनीका कारण यस वर्ष विगतका वर्षमा जस्तो अभाव हुने स्थिति नआउने बताएका छन्। उनका अनुसार साल्ट ट्रेडिङसँग करिब २ हजार ५ सयदेखि ३ हजार मेट्रिक टन चिनी मौज्दात छ। जुन दसैं बजारको माग धान्न पर्याप्त छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रले पनि कम्पनीसँग पर्याप्त चिनी रहेको जानकारी दिएका छन्। कम्पनीसँग हाल ८ हजार ७२७ क्विन्टल र ३३ केजी चिनी मौज्दात छ। यो चिनी देशभरका प्रदेश र अधिकांश जिल्लामा रहेका सहुलियत पसलमा राखिएको छ।
खुल्ला बजार प्रतिस्पर्धा हुने भएकाले नेपालमा दसैंका बेलामा चिनीको मूल्य बढाएर व्यापारीले कालो बजारी गर्ने सम्भावना रहन्छ। यसलाई नियान्त्रण गर्नका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई खाद्यन्न सहुलियत पसल मार्फत मूल्य निधारण गर्छ। यो वर्ष सहुलियत पसलमा हाल बजारमा पाइने प्रतिकिलो चिनी मूल्यको तुलनामा ५ रुपैयाँ कममा बिक्री गरिने सरोकारवालाले बताएका छन्।
यसले मूल्य नियान्त्रण हुने देखिन्छ।साल्ट ट्रेडिङका अधिकारीले भने, ‘हामीले राखेको मूल्य भनेको एउटा मानक जस्तो हुन्छ। त्यो भएपछि दुई-चार रुपैयाँ त माथि जाला, तर त्यसरी एकैचोटि धेरै माथि चाहिँ जान सक्दैन।’
खाद्य कम्पनीले पनि मूल्य नियन्त्रणका लागि विशेष भूमिका खेल्ने मिश्रले बताए। हाल कम्पनीले चिनी प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गरिरहेको छ। तर दसैं-तिहारमा सहुलियत बजारबाट ५ रुपैयाँ छुट दिएर बिक्री गर्ने तयारी गरेको छ।
चिनीको खपतबारे नेपाल चिनी उद्योग संघका अध्यक्ष अग्रवालले देशभरि मासिक २० देखि २५ हजार मेट्रिक टन चिनी खपत हुने बताए। तर, दसैंको समयमा घरायसी खपत बढ्ने भए पनि औद्योगिक खपत कम हुने भएकाले समग्र मागमा ठूलो चाप नपर्ने उनको भनाइ छ।
‘दसैंमा औद्योगिक खपत त केही न केही कम हुन्छ। एक डेढ हप्ता उद्योग बन्द हुँदाखेरि,’ उनले भने। यसले बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्न मद्दत पुग्ने देखिएको छ।