काठमाडौं। हुन्डी निरुत्साहित गर्न अढाई वर्षअघि बन्द गरिएको आन्तरिक रेमिट्यान्स खुलाउन केन्द्रीय बैंक निरन्तर सक्रिय भएको छ। हुन्डीका कारण मुलुक फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले ग्रे लिस्टमा राखिरहेको अवस्थामा केन्द्रीय बैंकलाई हुन्डीलाई प्रोत्साहित गर्न आन्तरिक रेमिट्यान्स खुलाउन लागेको हो।
कर छली, न्यूनबिजीकरण, सुपारी, सुन तस्करीको भुक्तानीमा प्रयोग हुने केन्द्रीय बैंकले गरेको अध्ययनबाट देखिएपछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले अढाई वर्षअघि आन्तरिक रेमिट्यान्सको सीमा शून्यमा झारेका थिए। केन्द्रीय बैंकले विदेशी मुद्रा भित्र्याउन रेमिट्यान्स कम्पनीलाई इजाजत दिए पनि उनीहरूको जोडबल आन्तरिक रेमिट्यान्सतर्फ भएपछि सीमा शून्यमा झारिएको थियो।
तीन वर्षअघि केन्द्रीय बैंकले ६ महिना लगाएको गरेको अध्ययनअनुसार, आन्तरिक रेमिट्यान्स कर छली, अवैध भुक्तानी, आयात तथा निर्यातमा प्रयोग हुने गरेको थियो। विदेशबाट रेमिट्यान्स भित्र्याउन लाइसेन्स दिएका संस्थाहरु धमाधम आन्तरिक रेमिट्यान्सतर्फ आकर्षित भएपछि केन्द्रीय बैंकले विशेष निगरानी गरेर अध्ययनसमेत गरेको थियो।
अध्ययनबाट आन्तरिक रेमिट्यान्स गतल तरिकाले प्रयोग भइरहेको र अपादर्शी कारोबार बढेपछि केन्द्रीय बैंकले शून्यमा झारेको थियो। तर, अहिले पुन: आन्तरिक रेमिट्यान्स खुलाउन गृहकार्य सुरु भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार, सोमबार आन्तरिक रेमिट्यान्स खुलाउन हुने वा नहुने विषयमा केन्द्रीय बैंकका सम्पूर्ण कार्यकारी निर्देशक तथा सरोकारवासँग छलफल राखिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग अनौपचारिक छलफलमा केही कार्यकारी निर्देशकहरूले आन्तरिक रेमिट्यान्स खुलाउनुपर्ने सुझाव राखिसकेका छन्। त्यही अवस्थामा सोमबार सरोकारवालासँग पनि छलफल डाकिएको हो।
तीन वर्षअघि केन्द्रीय बैंकले गरेको अध्ययन कुनै रेमिट्यान्स कम्पनीमा नगद लगेर दिने र अर्को ठाउँबाट लिन कार्यले तीव्रता पाएको फेला परेको थियो।
केन्द्रीय बैंक आर्थिक पारदर्शीलाई बढावा दिनुपर्नेमा उल्टै आन्तरिक रेमिट्यान्स खोलेर अवैध आर्जनलाई प्रश्रय दिन खोजेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्।
तीन वर्षअघि केन्द्रीय बैंकले गरेको अध्ययन कुनै रेमिट्यान्स कम्पनीमा नगद लगेर दिने र अर्को ठाउँबाट लिन कार्यले तीव्रता पाएको फेला परेको थियो। विदेशबाट हुन्डीमार्फत आएको कालो धन नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा सेतो बनाउने क्रम बढेको राष्ट्र बैंक स्रोतले स्विकारेको छ।
‘यति नै अंकले बढ्यो भन्ने तथ्यांक त छैन,’ स्रोत भन्छ, ‘तर, बैंकहरूबाट पाएको सूचना र हाम्रो आन्तरिक अनुसन्धानले त्यस्तो कारोबार बढेको स्पष्ट संकेत देखिएको थियो। त्यही भएर बन्द गरिएको हो।’
स्रोतका अनुसार यस प्रक्रियामा विदेशमा रहेका नेपालीले हुन्डीमार्फत घरमा पैसा पठाउँछन्। त्यो विदेशी मुद्रा नेपाल आएको हुँदैन। यता हुन्डीवालाको एजेन्टले रेमिट्यान्स कम्पनीको आउटलेटमा नगद जम्मा गरिदिन्छन्। त्यो पैसा सम्बद्ध व्यक्तिकै बैंक खातामा जम्मा हुन्छ।
यसरी हुन्डीलगायत अनौपचारिक रूपमा आएको कालो धन नेपालमा आएर बैंकिङ प्रणालीमार्फत सेतो भइरहेको राष्ट्र बैंकको अध्ययनले देखाउँदा पनि आन्तरिक रेमिट्यान्स खुलाउन लागिएको छ।
यता, सरकार हुन्डीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सम्बन्धमा गृह मन्त्रालय, अर्थ मन्त्रालय सम्पत्ति शुद्धीकरणबीच पटक-पटक छलफल भइरहेका बेला केन्द्रीय बैंक हुन्डीलाई बढावा दिने नीति लिइरहेको छ।
एजेन्ट वा सबएजेन्टले स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा अनिवार्य रूपमा सम्बन्धित रेमिट्यान्स कम्पनीको कारोबार प्रणाली (सिस्टम) प्रयोग गरी प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम १ लाख रुपैयाँसम्मको मात्र कारोबार गर्ने व्यवस्थालाई केन्द्रीय बैंकले शून्यमा झारेको थियो। त्यसलाई फेरि ब्यूँत्याउन खोजिएको स्रोतको दाबी छ।