काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले देशभर चलेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता मुद्दामा युवा पुस्ताले चासो देखाएको भन्दै त्यसलाई विवेकपूर्ण अवतरणमार्फत देशलाई समुन्नतिको यात्रामा अघि बढाउने अपेक्षा गरिएको छ।
महासंघले पछिल्ला घटनाक्रममा व्यवसायी तथा उद्यमीको उद्योग, कार्यालय र निवासमा तोडफोड र आगजनी भएका घटनाप्रति कडा आपत्ति जनाएको छ। यसरी व्यक्तिगत तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमण हुनुले अर्बौं रुपैयाँ बराबरको क्षति भएको र यसले राजस्व तथा कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने प्रारम्भिक आकलन गरिएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले निजी क्षेत्रको गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्र थप संकटतर्फ धकेलिने चेतावनी दिँदै आम उद्यमी तथा व्यवसायीलाई शान्त वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न सरकारले सुरक्षा व्यवस्था बलियो बनाउनुपर्नेमा जोड दिएको छ। साथै, निषेधाज्ञा वा कर्फ्युको समय औषधी, खाद्यान्न, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु आपूर्ति सहजीकरण गर्न आग्रह गरेको छ।
अहिले पनि धेरै भन्सार नाका बन्द रहेको भन्दै महासंघले अत्यावश्यक वस्तु आयात–निर्यातका लागि नाकामा आवश्यक सुरक्षा व्यवस्था गरेर सञ्चालनमा ल्याउन माग गरेको छ। साथै गुणस्तरीय सामानको नियमित आपूर्ति सुनिश्चित गर्न प्रदेश, जिल्ला, नगर तथा वस्तुगत संघहरूले सक्रिय अनुगमन गर्नुपर्नेमा जोड दिएको छ।
महासंघका अनुसार, निजी क्षेत्रले नेपालको कुल अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याएको छ। त्यसैले स्थायित्वका लागि युवाको चाहनाअनुसार सुशासन, वाक स्वतन्त्रता र स्वतन्त्र व्यवसायिक अधिकार सुनिश्चित गर्दै लगानी र रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
महासंघको बुधबार बसेको कार्यकारिणी समिति र पूर्वअध्यक्षको बैठकमा यी विषयमा छलफल गरी धारणा सार्वजनिक गर्ने निर्णय गरेको पनि जनाएको छ। महासंघले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माणमार्फत मात्र मर्यादित रोजगारी र समुन्नत समाज सम्भव हुने पुनः स्पष्ट पारेको छ।