काठमाडौं। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका भाटभटेनी सुपर स्टोरका केही शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २७ गते दिउँसो २ बजेदेखि बेलुकी ८ः३० बजेसम्म नेपालभरिकै विभिन्न १६ शाखा खुलेका छन्।
कम्पनीले काठमाडौं उपत्यकाभित्र टोखा, सतदोबाटो, अनामनगर, सनागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे र बलाजु शाखा सञ्चालनमा ल्याएको जनाएको छ। यस्तै, उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलेका छन्।
तोडफोड र क्षतिको बीचमा पनि ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै कम्पनीले ‘हामी फेरि खुलेका छौँ’ भन्दै सूचना जारी गरेको छ।
यसअघि आन्दोलनको क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण हुँदा भाटभटेनीका धेरै शाखा पनि प्रभावित भएका थिए। अब कम्पनीले आफ्नो नियमित सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ।
