काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभर चाडपर्व लक्षित सहुलियत मूल्यका पसल खुल्ने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर चाडपर्व लक्षित १५३ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालन गर्न लागेको बताएको हो।
उपत्यकासहित ४५ जिल्लाका १११ स्थानमा खाद्यले सहुलियत मूल्यका पसल सञ्चालन गर्नेछ। कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी÷प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट हुनेछ।
दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री गरिनेछ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट उपभोक्तालाई दिइनेछ।
यस्तै, उपभोक्ताले विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रूपैयाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउनेछन्।
काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायण, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा बिक्री कक्ष रहने कम्पनीका प्रमुुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए।
‘दसैंतिहार, छठसम्म दैनिक उपभोग्य वस्तु माग अत्यधिक हुने हुँदा बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्यका पसल सञ्चालन गरिन लागेको हो। यसले कालोबजारी नियन्त्रणमा सघाउने अपेक्षा छ। अनलाइन अर्डरमार्फत होमडेलिभरी व्यवस्था गरिनेछ’, उनले भने।
खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी पाउनेछन्। खाद्य कम्पनीले चाडपर्वका बेलामा २ करोड ५२ लाख बराबरको खाद्यमा सहुलियत दिए सरकारबाट शोधभर्ना पाउनेछ।
साल्ट ट्रेडिङले उपत्यकासहित देशभर ४२ स्थानमा सुुपथ मूल्य सञ्चालन गर्नेछ। उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा पसल सञ्चालन हुने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए।
उनका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिइनेछ।
कर्पोरेसनका सहुलियत मूल्य पसलबाट प्रतिव्यक्ति ६ केजीसम्म नुन, दुुई केजी चिनी र सोही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइनेछ।