काठमाडौं। विशाल ग्रुप र त्रिवेणी ग्रुपको संयुक्त लगानी रहेको ग्रीन भेञ्चरले डेढ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीमार्फत एक अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको हो।
सन् २००४ मा स्थापना भएको ग्रीन भेञ्चर कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो भने आयोजना सन् २०२१ देखि सञ्चालनमा आएको हो। कम्पनीले सन् २०२२ मा ९४ करोड ४० लाख, २०२३ मा १ अर्ब ५६ करोड ७० लाख र २०२४ मा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको रेटिङमा ६ अर्ब ७९ कराेड ५१ लाख रुपैयाँ कर्जा सीमा तय भएको छ। जसमा ६ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ दीर्घकालिन कर्जामा ‘त्रिपलबि माइनस’ र १५ करोड रुपैयाँ अल्पकालिन कर्जामा ‘एथ्रि’ रेटिङ प्राप्त गरेको छ। कम्पनीले प्राप्त गरेको यो रेटिङ अघिल्लो रेटिङमा स्तरोन्नति (अपग्रेड) भएको हो। अघिल्लो पटक कम्पनीले दीर्घकालिन कर्जामा ‘डबबि प्लस’ र अल्पकालिन कर्जामा ‘एफोर प्लस’ रेटिङ प्राप्त गरेको थियो।
कम्पनीले यसअघि पाएको दीर्घकालिन कर्जाको ‘डबबि प्लस’ ले वित्तीय भुक्तानीमा मध्यम स्तरको जोखिम संकेत गर्छ भने हालको ‘त्रिपलबि माइनस’ ले कम्पनीमा वित्तीय दायित्व भुक्तानी क्षमता प्रयाप्त रहेको संकेत गर्छ। तर, प्रतिकुल आर्थिक परिस्थिति रहेमा वित्तीय जोखिम मध्यम स्थरको हुन सक्छ।
यस्तै, कम्पनीले यसअघि प्राप्त गरेको अल्पकालिन कर्जाको एफोरले मध्यम स्तरको जोखिम संकेत गर्छ भने, हाल प्राप्त गरेको एथ्रिले वित्तीय दायित्व भुक्तानी बलियो र न्यून जोखिम रहेको संकेत गर्छ।
कम्पनी आफ्नो आर्थिक स्थीति सुधार गर्दै गएको हुँदा रेटिङ अपग्रेड गरिएको इन्फोमेरिक्सले उल्लेख गरेको छ। रेटिङ रिपोर्टअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष आम्दानी ११ प्रतिशतले वृद्धि गरेको छ। आम्दानीमा वृघि कम्पनीको प्लान्ट सञ्चालन र प्लान्ट लोड फ्याक्टर (पिएलएफ) मा सुधार हुँदाको कारण हो।
अघिल्लो वर्षमा सुरुङ र इलेक्ट्रोमेकानिकल उपकरण निर्माणका कारण कम्पनीको प्लान्ट ३३ दिन बन्द भएको थियो। जसले गर्दा कम्पनीको पिएलएफ २०२४मा ६२.५६ प्रतिशतबाट घटेर ५०.३८ प्रतिशत पुगेको थियो। तर, सन् २०२५मा पिएलएफ सुधार भएर ६२.४१ प्रतिशत कायम भएको छ।
यस्तै, कम्पनीको इबिआइटिडिए मार्जिन अघिल्लो वर्षको तुलनामा बढेर गत वर्ष ८५.८७ प्रतिशत पुगेको छ। सन् २०२४ मा कम्पनीको इबिआइटिडिए मार्जिन ८१.७४ प्रतिशत थियो। कम्पनीको पुँजी संरचनामा भने अझै ऋणको भार छ। यद्यपी, कम्पनीले ऋणको साँवा ब्याज तिरेको हुँदा सञ्चित नाफामा सुधार आएको छ। २०८२ असार मसान्तसम्म कम्पनीको गियरिङ अनुपात १.८४ गुणा छ। जुन २०८१ असार मसान्तमा २.२२ गुणा र २०८० असार मसान्तमा २.४२ गुणा थियो।
ग्रीन भेञ्चर कम्पनी ‘रन–अफ–द–रिभर’ जलविद्युत आयोजना हो। यस्ता आयोजना नदी प्रवाहको प्राकृतिक बहावमा निर्भर हुन्छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०८४ चैतसम्मका लागि ५२.४ मेगावट विद्युत बिक्री सम्झौता गरेको छ।