काठमाडौं। गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनसँगै तोडफोडपछि भएको आगलागीपछि बन्द भएको सेयर बजार गत २ गते पहिलो पटक खुला भयो। सेयर बजार खुलेसँगै लगातार तेस्रोपटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको थियो।
आन्दोलनपछिको पहिलो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो पटक नकारात्मक सर्किट लागेर १६० अंकले गिरावट आएको थियो। योसँगै बिहीबार सेयर बजार २५११ विन्दुमा समेदिएर बन्द भएको थियो।
अघिल्लो कारोबार दिन सेयर बजारमा भारी गिरावट आए पनि यो साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ। आज सेयर बजार ११२ अंकले बढेर बन्द भएको हो। सेयर बजार बढेसँगै कारोबार रकम पनि ९ अर्ब १७ करोडभन्दा माथि पुगेको छ।
निर्जीवन बीमाबाहेकका सबै सेक्टर बढेका छन्। निर्जीवन बीमा ४.०२ प्रतिशत घटेको छ। भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमाको दायित्व बढेसँगै नकारात्मक प्रभाव देखिएको हो।
आज १० प्रतिशत मूल्य बढेका कम्पनीहरूमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावर छन्।
सबैभन्दा धेरै मूल्य घट्नेमा निर्जीवन बीमा कम्पनीहरु अगाडि देखिएका छन्। जसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशत मूल्य घटेको छ।