सिरहा। जेनजी प्रदर्शनका क्रममा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्विन्टल चामल र चिनी फिर्ता भएको छ।
लहान नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ को भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो। कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्विन्टल ४३ किलो चामल र सात क्विन्टल ८४ किलो चिनी फिर्ता भएको छ।
खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले फिर्ता गरिएका खाद्यान्न इलाका प्रशासन कार्यालय, इलाका प्रहरी तथा स्थानीय युवाको सहयोगमा संकलन गरिएको जानकारी दिए।
त्यसैगरी स्टिल दराज ६ थान, सोफा दुई थान, काठको खाट एक थान, कुर्सी दुई थान, घुम्ने कुर्सी एक थान र त्रिपाल एक थान सामग्री पनि फिर्ता भएको उनले बताए।
चार वटा गोदामबाट लुटिएको सम्पूर्ण सामग्रीमध्ये आठ हजार १४८ क्विन्टल चामल, तीन हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा रहेका थिए, जसको अनुमानित मूल्य करिब १० करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको प्रमुख सुनारको भनाइ छ।–रासस