काठमाडौं। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई लगानीकर्ताका छाता संगठनले सेयर बजार सुधारका लागि ६ बुँदे सुझाव बुझाएका छन्।
गभर्नर पौडेललाई सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ताले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै सेयर बजारमा आएको अस्वाभाविक गिरावटबारे ध्यानाकर्षण गराउँदै आवश्यक कदम चाल्न सुझाएका हुन्।
गत बिहीबारको कारोबारमा सेयर बजार लगातार तीन पटकसम्म नकारात्मक सर्किट लागे पनि आइतबारको कारोबारमा भने हरियाली छाएको छ।
‘हालैको राजनीतिक घटनाक्रमपछि केही समयको अन्तरालपछि २०८२ असोज २ गतेदेखि सेयर बजार (नेप्से) पुनः कारोबारका लागि खुलेको हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘तर, पूर्वतयारी र उचित सतर्कताबिना बजार खुलाइएकै दिन करिब ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दै ७२ करोड मात्र कारोबार भई १६० अंकभन्दा बढी सूचकांकमा ह्रास भई करिब ३ खर्ब पुँजीकरण ह्रास भएको हुनु लगानीकर्ताका साथै राष्ट्रको समेत चिन्ताको विषय बनेको छ।’
ज्ञापनपत्रमा अचानक आएको ठूलो गिरावटका कारण बजारमा त्रास फैलिएको उल्लेख छ। ‘आमलगानीकर्ताले आफ्नो पुँजीको ठूलो अंश गुमाउनुपरेको र मनोवैज्ञानिक रुपमा निराश भएको अवस्था देखिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘विगतमा पनि २०६२/६३ को जनआन्दोलन, २०७२ को भूकम्प वा कोभिड–१९ जस्ता संकटका समयमा समेत बिनासावधानी बजार खुलाउँदा सुरुका दिनमा लगानीकर्ताले कम कारोबारसँगै ठूलो लगानी गुमाउनुपरेको थियो। नियामक निकायले केही नीतिगत व्यवस्थामा सुधार गरेपछि विस्तारै बजारले आफैँलाई पुनः सन्तुलनमा ल्याएको ऐतिहासिक उदाहरण भए पनि यसपटकको अनपेक्षित ह्रासले लगानीकर्तामा गहिरो अविश्वास पैदा गरेको छ।’
बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको नेपालको पुँजी बजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने यात्रामा राष्ट्र बैंकको सक्रियता अपरिहार्य रहेको ज्ञापनपत्रमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा सहभागी हुन र पुँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाउन आग्रह गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत रुपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्ण रुपमा खारेजीलगायतका ६ बुँदे माग पेस गरिएको छ।