काठमाडौं। नेपालमा कोरियाली प्रविधिको घर बनाउने कम्पनी एसवाई प्यानलले एक वर्षमै पौने एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। एसवाई प्यानल नेपालले अंग्रेजी आर्थिक वर्ष सन् २०२५ मा ७९ करोड रुपैयाँ (अपरिस्कृत) बराबरको व्यापार गरेको हो।
सन् २०१७ मा स्थापित एसवाई प्यानल नेपालले प्रिफेब्रिकेटेड घरहरूको निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्छ। यसले एक्सपान्डेड पोलिस्टाइरिन र पोलियुरेथेन फोम स्यान्डबीच प्यानल, यूपीभीसी विन्डो, स्टील ढोका र ईपीएस सामग्री उत्पादन गर्दछ। जसमार्फत् कम्पनीले सन् २०२४ मा ६३ करोड, २०२३ मा ५२ करोड, २०२२ मा ४१ करोड र सन् २०२१ मा ४५ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो।
कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) का लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। जसमा इक्राले कम्पनीकाे अघिल्लो पटक गरेको रेटिङलाई अपग्रेड गरेको छ। अघिल्लो पटक कम्पनीले आईपीओ जारी गर्नका लागि ‘डबल बि’ पाएको थियो भने हाल त्यसलाई अपग्रेड गरी ‘डबल बि प्लस’ रेटिङ दिइएको छ। उक्त रेटिङ पाउने कम्पनीहरुमा लगानी गर्न मध्यम प्रकारको जोखिम रहने संकेत गर्छ।
कम्पनी रेटिङ अपग्रेड हुनुमा कम्पनीको वार्षिक औषत आम्दानी २४ प्रतिशतले वृद्धि भएको, कम्पनीले आफ्नो नाफा मार्जिनलाई स्थिर राख्न सफल भएकोलाई प्रमुख कारक मानिएको छ। साथै, कम्पनी हाल ऋण मुक्त संरचनामा सञ्चालित छ भने आफ्नो वित्तीय अवस्था र तरलता व्यवस्थापनमा सुधार गरेको छ। आईपीओ जारी गरेपछि कम्पनीको वित्तीय अवस्था थप राम्रो हुने अपेक्षामा इक्राले रेटिङ अपग्रेड गरेको रिपोर्टमा उल्लेख गरेको छ।
एसवाई प्यानल नेपाल दक्षिण कोरियामा अवस्थित एसवाई कम्पनीको सहायक कम्पनी हो। एसवाई कम्पनीको यसमा ६३ प्रतिशत सेयर स्वामित्व छ। बाँकी सेयर पनि सोही कम्पनीसँग सम्बद्ध कोरियाली नागरिकहरूकै स्वामित्वमा छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ५३ लाख ८० हजार वर्गफिट स्यान्डविच प्यानल, ६ हजार थान यूपीभीसी विन्डो र ७ हजार ५ सय थान स्टिल डोर रहेको छ। कम्पनीको उत्पादन कारखाना चितवनको रत्ननगरमा रहेको छ। यसका उत्पादनहरू ६५ भन्दा बढी डिलरहरू मार्फत देशभर उपलब्ध छन्।