काठमाडौं। नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट बहुप्रतीक्षित मूल्यांकन डाटाबेस प्रणालीको सफल परीक्षण गरेको छ। अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको यस प्रणालीले प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गर्ने अपेक्षा गरिएको छ।
विश्व व्यापार संगठन अन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा प्रचलित यो मूल्यांकन विधि नेपालमा पहिलोपटक शुरु भएको हो। यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ।
हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ। सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुर्याउँछ।
व्यवसायीहरूले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मूल्यांकन डाटाबेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो। नेपाल उद्योग वाणिज्य महासंघले ग्याट भ्यालुएशन अनुसार अनलाइन मूल्यांकन गर्न सकिने सम्भावना केही बर्षदेखि सरकारलाई देखाउँदै आएको थियो।
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलटका रूपमा विराटनगरबाट शुरु भएको मूल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरूमा आग्रह गरेका छन्। साथै सबै भन्सार बिन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग पनि आग्रह गरे।
मूल्य निर्धारण डब्लुटिओ/ग्याट भ्यालुएशन आर्टिकल सेभनमा उल्लेखित विधिहरूको पूर्ण पालना गरी सो अनुरूप कारोबार मूल्य निर्धारण गरिनुपर्ने माग महासंघको छ।
अनलाइन डाटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यूनीकरण र अधिक बीजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ।