रौतहट। ठूलो पानी परेपछि रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ। वर्षाका कारण गाउँ जलमग्न छ। राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए।
भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ। पानीले धानबालीमा पनि क्षति पुगेको उनले बताए। विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५.० मिलिमिटर वर्षा भएको छ। सदरमुकाम पनि डुबानमा परेको छ।
रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उनको भनाइ छ। उनका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन्। अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन्।
झाझ नदीमा आएको बाढीका कारण गौर गंगापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए। दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ।
राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जंगलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताए। वडा–९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ।
वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
सिरहामा बाढी र डुबानको जोखिम कायमै
लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ। हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अन्नतराम शर्माका अनुसार वर्षाका कारण केही क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। हुलाकी सडकअन्तर्गत सहजा खोलामा पानीको बहाव बढेपछि औरही र बरियारपट्टि चौकबाटै सवारीसाधनलाई ‘डाइभर्ट’ गरिएको छ। प्रहरी टोली संवेदनशील स्थानहरूमा परिचालन गरिएका छन्।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कमला, गागन, बलान, सरे, खुट्टीलगायतका नदी तथा खोलामा पानीको बहाव सामान्य भए पनि लगातारको वर्षाका कारण बहाव कुनै बेला पनि बढ्न सक्ने खतरा रहेको बताए। ‘हामी सबै जोखिमयुक्त क्षेत्रमा निगरानी गरिरहेका छौं। नागरिकलाई सतर्क रहन अनुरोध छ।’
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज कमला नदी क्षेत्रको निरीक्षण गरेको छ। कतिपय जोखिमयुक्त ठाउँमा कटान रोक्न बालुवाले भरिएका बोराहरूको प्रयोग गरी अस्थायी बाँध बनाइएको प्रजिअ अधिकारीले जानकारी दिए।
यहाँका स्थानीय तहले पनि सक्रियता देखाएका छन् । लहान नगरपालिका प्रमुख महेशप्र्रसाद चौधरीले वडा–१६ को झिरहरि खोला र वडा–४ का सुन्दरपुर, इस्लामपुर बस्तीको निरीक्षण गरेका थिए। नगरपालिकाले पानी जमेको ठाउँहरूमा निकासको काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिए।
यस्तै, स्थानीय प्रशासनले नदी तथा खोलाका आसपासका बासिन्दालाई सतर्क रहन, जोखिम महसुस भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ।–रासस