काठमाडौं। सिराहामा रहेको हिमालय सुगर मिल्स लिमिटेड (एचएसएमएल) ले पछिल्लो दुई वर्षमा उल्लेखनीय आर्थिक सुधार हासिल गरेको छ। आर्थिक वर्ष २०७९/८० मा गम्भीर संकटमा रहेको कम्पनी अहिले बलियो नाफामा फर्किएको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जारी गरेको प्रतिवेदनले देखाएको छ।
कम्पनीको आम्दानीमा पनि उल्लेखिय परिवर्तन देखिएको छ। आव २०७९/८० मा मात्र ३९ करोड ९० लाख रुपैयाँमा सीमित रहेको आम्दानी अर्को वर्ष अर्थात् आव २०८०/८१ मा ४५० प्रतिशतभन्दा बढी वृद्धि हुँदै २ अर्ब १९ करोड ६० लाख पुगेको थियो। हालको आव २०८१/८२ मा यो १ अर्ब १७ करोड ८० लाखमा स्थिर भएको छ।
कम्पनी आव २०७९/८० मा घाटामा रहँदा अहिले ९.८ प्रतिशत नाफासहित बलिलयाे अवस्थामा फर्किएको छ। यस अवधिमा कम्पनीको इबिटडा (ब्याज, कर, ह्रास र परिशोधन अघिको आम्दानी) मार्जिन पनि १९.७ प्रतिशतबाट बढेर २३.४ प्रतिशत पुगेको छ।
ऋण बोझमा उल्लेखनीय कमी
कम्पनीको पूँजी संरचनामा देखिएको सुधार अझै प्रभावकारी रहेको छ। ऋण र इक्विटी अनुपात आव २०७९/८० को ३.०३ गुणाबाट घटेर चालु आवमा १.०३ गुणामा झरेको छ। यसको अर्थ कम्पनीको ऋण बोझ निकै घटेको र आर्थिक स्थिति बलियो भएको हो।
यस्तै, ब्याज तिर्न सक्ने क्षमता नाप्ने ब्याज कभरेज अनुपात आव २०७९/८० को ०.५१ गुणाबाट उल्लेखनीय रूपमा बढेर आव २०८१/८२ मा ३.९७ गुणा पुगेको छ। आव २०७९/८० मा कम्पनीले आफ्नो आम्दानीबाट ब्याज तिर्न नसक्ने अवस्था थियो, तर अहिले आरामसँग ब्याज तिर्न सक्षम भएको छ। यस्तै, ऋण सेवा कभरेज अनुपात (डीएससीआर) ०.४० बाट बढेर १.५० मा पुगेको छ, जसले कम्पनीले आफ्नो ऋण र ब्याज सहजै तिर्न सक्ने देखाउँछ।
अनुभवी नेतृत्वको योगदान
सन् २०११ देखि सुगर उत्पादनमा संलग्न रहेको यो कम्पनी सराफ र अग्रवाल परिवारद्वारा सञ्चालित छ। तीन दशकभन्दा बढी व्यावसायिक अनुभव भएका प्रवर्द्धकहरू र अध्यक्ष सुमितकुमार अग्रवालको नेतृत्वमा कम्पनीले यो उल्लेखनीय सुधार हासिल गरेको हो। कम्पनीको व्यवस्थापकीय टोलीमा प्राविधिक, प्रशासन र उखु विकास विभागका महाप्रबन्धकहरू छन्, जसमध्ये सबैसँग लगभग तीन दशकको सान्दर्भिक अनुभव रहेको छ।
चुनौतीहरू यथावत्
आर्थिक सुधार भए पनि कम्पनीले केही चुनौतीहरूको सामना गरिरहेको छ। सरकारले आयातित चिनीमा लाग्ने भन्सार महसुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत पारेपछि स्वदेशी उत्पादकलाई कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ। साथै, किसानलाई दिइने अनुदान पनि आधा भएर ३५ रुपैयाँ प्रति क्विन्टलमा झरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको कुल २ अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरको बैंक सुविधालाई 'आईआरएन बीबीबी माइनस' र 'आईआरएन ए३' रेटिङ प्रदान गरेको छ। सिराहाको चन्द्र अयोध्यापुरमा अवस्थित यो कम्पनीको दैनिक २,५०० टन उखु पेराइ क्षमता रहेको छ। कम्पनीसँग १ मेगावाटको को-जेनरेसन विद्युत प्लान्ट पनि छ।