काठमाडौं। लगातारको वर्षाले प्रभावित बनेको काठमाडौं उपत्यका मौसममा सुधार आएसँगै विस्तारै सामान्य बन्दै गएको छ। निरन्तर पानी परेपछिको बाढीपहिरोले सडक यातायातबाट सम्पर्कविहीन बनेको उपत्यकाको जनजीवन क्रमशः लयमा फर्किन थालेसँगै चहलपहल देखिएको हो।
यतिबेला बजार क्षेत्रमा मानिसको भीड बढेको छ भने बडादसैंको अन्तिम दिन मान्यजनबाट टीका–जमरा थाप्नेहरुको संख्या पनि बाक्लो छ।
प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबारदेखि वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको हो। काठमाडौंका सडकमा चहलपहलसँगै यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी लयमा फर्किएजस्तो देखिन थालेको छ। मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो।
आइतबारदेखि मौसममा सुधार आएपछि काठमाडौंका सडकमा गाडीको चाप बढेको छ। सरकारले एक दिन बिदा कटौती गरेर आजदेखि सरकारी कार्यालय खुलाएपछि सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ।
शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौंको सडक नेटवर्क प्रभावित भए पनि हाल उपत्यकाका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुंगा, अरनिको राजमार्ग, टोखा सडक खण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेको तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेको प्रवक्ता सुवेदीले बताए।
सरकारले तीन दिनसम्म लामो दूरीका यातायात सञ्चालनमा रोक लगाए पनि मौसम सुधार भएसँगै हटाएपछि उपत्यका बाहिरबाट दसैंका लागि मूलथलो गएकाहरु काठमाडौं फर्किन थालेका छन्।