काठमाडौं। जेनजीको आन्दोलनमा निजी लगानीमाथि लुटपाटसँगै भएको आगजनीमा संलग्नमाथि कारवाही गर्न माग राखिएको छ। अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी निजी क्षेत्रका तीन वटा संगठनले आन्दोलनमा लुटपाट र आगलागीमा संलग्नलाई कारबाही गर्न माग राखिएको हो।
मन्त्री खनालसँग भेट गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र निरुत्साहित हुने भन्दै तत्काली दोषीलाई कानुनी कारबाही गर्न माग राखेका हुन्।
‘निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारवाही गर्नुपर्ने तर्पm सरकारको ध्यानाकर्षण छ,’ तीन संगठलनले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। यस्तै, सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यवसायिक आचार संहिताअनुरुप व्यवसाय गर्न संगठनको आग्रह थियो।
यसअघि अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका थिए।
सरकारले पुर्ननिर्माणका लागि राजस्व छुट, बैंकिग सहुलियत र बिमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको उनको भनाइ थियो।
यसैबीच निजी क्षेत्रको मागबमोजिम जडित नयाँ डेटावेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह थियो। असोज ९ गते अर्थमन्त्री खनालले उद्घाटन गरेको यो प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह हुनेछ। सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो। यसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्ने छ।