काठमाडाैं। म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा पठाउन हुन थालिएको छ। गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध संकलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो।
वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए।
म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध संकलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहेका सहकारीका अध्यक्ष गुरुङले बताए। “अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ”, उनले भने।
बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ। कृषकहरुले हरेक दिन केन्द्रमा दूध संकलन गर्ने र ५०० लिटर बढी दूध संकलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ। मंगलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ।
दुग्ध संकलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन्। सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्यांकर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ।
मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए। उनका अनुसार, कृषकलाई १५÷१५ दिनमा दूधको रकम भक्तानी हुने सम्झौता गरिएको छ।
“गाईको दूधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दूध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यी सबै समस्याको समाधान भएको छ”, वडा अध्यक्ष खड्काले भने। गाईको दूधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ। सिंगामा यसअघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दूध संकलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ।