काठमाडौं। व्यवसायी शोभाकर न्यौपाने र शिवाजी न्यौपानेको मुख्य लगानी रहेको जय अम्बे स्टीलले एक वर्षमै पौने ९ अर्बको व्यापार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा (२०२४/२०२५) मा कुल ८ अर्ब ७५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
बाँकेको जानकी गाँउपालिकामा सन् २०१७ मा स्थावित जय अम्बे स्टीलमा शोभाकरको ३१.५० प्रतिशत र शिवाजीको २० प्रतिशत सेयर स्वामित्व छ। जय अम्बे स्टीलले इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्सलगायत उत्पादन गरिरहेको छ।
यसबाट उद्योगले आव २०२४ मा ८ अर्ब ४९ करोड, आव २०२३ मा ८ अर्ब ९९ करोड, आव ०२२ मा ७ अर्ब ९९ करोड र आव ०२१ मा ५ अर्ब ८० करोड रुपैयाँ बढीको व्यापार गरेको थियो।
वार्षिक अर्बौंको व्यापार गर्ने जय अम्बे स्टीलले उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा रेटिङ गराएको थियो। उद्योगको गत वर्षको वित्तीय अवस्थाको मूल्यांकन गर्दै इन्फोमेरिक्सले १० अर्ब १६ करोड रुपैयाँ बढी कर्जा सिमा निर्धारण गरेको छ।
यसमा ४ अर्ब ८५ करोड ९९ लाख दीर्घकालीन कर्जा र ५ अर्ब ७४ करोड रुपैयाँ अल्पकालीन कर्जा सीमा निर्धारण गरिएको हो। यद्यपि उद्योगलाई सानिमा बैंकबाट अल्पकालीन चालू पुँजी प्रकृतिको कर्जा लिन इन्फोमेरिक्सले ४५ करोड रुपैयाँको सीमा निर्धारण गरेको छ।
इन्फोमेरिक्सले उद्योगलाई दीर्घकालीन कर्जामा ‘त्रिपल बी माइनस’ र अल्पकालीन कर्जामा ‘ए थ्री’ रेटिङ दिएको छ। सावर्जजनिक निष्कासनका लागि पनि ‘त्रिपल बी माइनस’ दिएको छ।
यसबाट उद्योगले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने विषयमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ भने ‘ए फोर’ रेटिङले एक वर्षभन्दा कम अवधिको कर्जा समयमै भुक्तानी गर्न पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। इन्फोमेरिक्सले उद्योगलाई अनुभवी प्रमोटर समूह, स्थापित ब्रान्ड र उत्पादनमा गरिएको रणनीतिक लगानीलाई प्रमुख सबल पक्षको रूपमा लिएर दिएको रेटिङ रिपोर्टमा उल्लेख छ।
जय अम्बे स्टीललाई नेपालको उत्पादन क्षेत्रमा स्थापित अम्बे समूहले प्रमोट गरेको छ। समूहका अध्यक्ष शोभाकरसँग चार दशक बढीको अनुभव छ। समूहका अन्य स्टील तथा सिमेन्ट इकाइसँग रहेको व्यावसायिक तालमेलले कम्पनीलाई उत्पादन र वितरणमा थप लाभ मिलेको छ।
उद्योगको मुख्य सबल पक्षमध्ये बिलेट उत्पादनमा गरिएको ब्याकवार्ड इन्टिग्रेसन मुख्य हो। स्टील उत्पादनका लागि अत्यावश्यक बिलेट आफ्नै प्लान्ट सञ्चालनमा आइसकेको छ। यस रणनीतिक कदमले कच्चा पदार्थको लागत दक्षता बढाउनुका साथै बाह्य आपूर्तिकर्तामाथिको निर्भरता घटाएको छ।
यसले कम्पनीलाई बजारमा स्थिर माग कायम राख्न र प्रतिस्पर्धाका उत्पादनबाट आफ्नो उत्पादनलाई फरक देखाउन मद्दत गरेको छ। उद्योगको वित्तीय प्रोफाइलमा पनि उल्लेखनीय सुधार देखिएको छ।
कम इनपुट लागतका कारण ईटीआईटीडीए मार्जिन आव २०२१ को २ प्रतिशतबाट बढेर आव २०२५ मा ११.३४ प्रतिशत पुगेको छ। यसअघि घाटा बेहोरेको कम्पनीले आव २०२५ मा ३.०६ प्रतिशत खुद नाफा आर्जन गर्न सफल भएको छ।
उद्योगले आफ्नो प्लान्ट बाँकेमा रणनीतिक रूपमा स्थापना गरेकाले पश्चिमी क्षेत्रको बढ्दो मागलाई सहजै सम्बोधन गरी बजार विस्तार गर्ने बलियो आधार तयार पारेको छ। यी सबल पक्षले उद्योगलाई भविष्यमा आफ्नो नाफा र सूचक सुधारका साथै आईपीओ निष्कासन गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।