काठमाडौं। स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान)ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो।
अर्थमन्त्री खनालको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजी बजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो।
उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लगायत निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्था तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो।
मन्त्री खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरता देखाए। त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए।
‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिद बिक्रीमा बैंक तथा वित्तीय संस्थामाथि लगाइएको बन्देज हटाउने, नयाँ औजार भित्र्याउने, नेप्सेको पुर्नसंरचनासहित निजीकरण गर्नेलगायत दर्जनौँ सुझाव दिएको छ। त्यो एकदमै स्वागत योग्य छ,’ उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायलाई तत्काल कार्यान्वयनमा लैजान हाम्रो माग छ।
यसअघि कुनै क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भए पनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै हाल पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने ढकालको भनाइ छ।
‘अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि जसरी अग्रसरता देखाउनु भयो उहाँलाई ब्रोकर एशोसिएशनको तर्फबाट धन्यवाद दिन चाहन्छौँ,’ उनले भने, ‘त्यसैगरी द्रुत गतिका कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविष्य एकदमै उज्वल हुनेछ।’