काठमाडौं । उद्योगी/ व्यवसायीले २ प्रतिशत ब्याजमा पुनरकर्जा मागेपछि अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल हुने भएको छ ।
उद्योगीले मागे अनुसार सुविधा दिन सकिने वा नसकिने भन्ने विषयमा छलफल गर्न अर्थमन्त्री खतिवडाले गभर्नर अधिकारीलाई बोलाउने भएका हुन ।
‘अहिलेको कानुनी प्रावधानले २ प्रतिशतमा पुनरकर्जा दिन मिल्दैन्, कुन कुन क्षेत्रमा पुनरकर्जा दिने भनेर उल्लेख गरेको छ, उद्योगीले जुन क्षेत्रका लागि पुनरकर्जा मागेका छन्, त्यस क्षेत्रमा दिन मिल्ने वा नमिल्ने विषयमा अर्थमन्त्री र गभर्नरबीच छलफल हुन लागेको हो,’ अर्थ मन्त्रालय स्रोतले क्यापिटलसँग भन्यो, ‘अर्थमन्त्री खतिवडालाई भेटेर उद्योगीले विभिन्न क्षेत्रका लागि २ प्रतिशत ब्याजमा पुनरकर्जा उपलब्ध गराउन माग गरेपछि गभर्नर र अर्थमन्त्रीबीच छलफल हुन लागेके हो ।’
उद्योगीले पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रका लागि २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म र प्रतिष्ठानहरुले २ प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनुपर्ने बताएका थिए ।
अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म र प्रतिष्ठानहरुले २०७६ चैत महिनादेखि कर्मचारी तथा कामदारको ६ महिनाको तलब, ज्याला भुक्तानीको लागि २ प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्तावन्दीमा एक वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु नेपाल उद्योग वाणिज्य महासंघको माग छ ।
बैंकको ब्याज लागतलाई न्यूनीकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म र प्रतिष्ठानको एक वर्षको ब्याज २ प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दिमा २ वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने महासंघले अर्थमन्त्रीसंग माग गरेका छन् ।
अथर्मन्त्री खतिवडाले पुनरकर्जाको विषयमा सोच्न सकिने आश्वासन दिएका थिए । ‘यसमा के गर्न सकिन्छ, म गभर्नरसँग सल्लाह गर्छ,’ उद्योगीसँगको भेटमा खतिवडाले भनेका थिए, ‘कुन कुन कानुनलाई संशोधन गर्नुपर्ने रहेछ, त्यसमा छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउँछु ।’
कोरोनाले व्यवसयिक क्षेत्रलाई समस्यामा पारेपछि केन्द्रीय बैंकले पुनरकर्जाको सीमा बढाएर ६० अर्ब रुपैयाँ पर्याएको छ । केन्द्रीय बैंकसंग अहिले ४४ अर्ब रुपैयाँ पुनरकर्जा कोषमा वचत छ ।