काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका ५ संगम कोलोनीस्थित आडाम्स र ठिमीले मध्यपुरथिमि नगरपालिकाअन्तर्गत रहेको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
तीन वर्षमा सम्पन्न गर्ने गरी काठमाडौं उपत्यका नगर विकास आयोजनाले कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति गठन गर्दै स्थानीयको एक हजार ४६८ रोपनी जग्गामा सुरु गरेको आयोजना २३ वर्ष बितिसक्दा पनि अलपत्र पारेको भन्दै स्थानीयले संगम कोलोनीका बासिन्दाले आयोजनालाई ज्ञापनपत्र बुझाएको हो।
आडाम्स र ठिमीका अध्यक्ष एकराज भण्डारीको नेतृत्वमा कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठसहितको टोलीले आयोजनाको कार्यालयमा आयोजनाका निमित्त प्रमख दिगम्बर झालाई ज्ञापनपत्र बझाएको हो।
आयोजना सुरु गर्नका लागि मध्यपुरथिमि नगरपालिकाका पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षमा २०५९ साल मङ्सिर १ गते गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना, उपभोक्ता समितिले २३ वर्षसम्म कुनै साधारणसभा नगरी विधान र कानुनविपरीत हालसम्म सञ्चालन भएकाले आगामी १५ दिनभित्र उपभोक्ता समिति गठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष भण्डारीले जानकारी दिए।
भण्डारीले ऐन, नियम र विधानविपरीत २३ वर्षसम्म एउटै उपभोक्ता समिति रहे पनि उपभोक्ताको हितको लागि कुनै काम नगरेको, तलब भत्ता खाने काम मात्रै भएको भन्दै १५ दिनभित्र उक्त उपभोक्ता समिति खारेज गरी सम्पूर्ण जिम्मेवारी नगरपालिकाले ग्रहण गरेर आयोजना छिटो सम्पन्न गर्न माग गरेको बताए।
आयोजना, नगर विकास कार्यालय र नगरपालिकालकाई विगत चार वर्षदखि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नहुँदा आयोजना अलपत्र परेको भन्दै उनले तत्काल उपभोक्ता समिति खारेज गरी नगरपालिका सम्पूर्ण स्वामित्व लिन माग गर्दै ज्ञापन पत्र बुझाएको बताए।
कमेरोटार आयोजना नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले आयोजनाका विभिन्न समस्या लिएर नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई दुई वर्षदेखि पटकपटक मौखिक तथा लिखित जानकारी र माग राखे पनि विभिन्न बाहना बनाएर पन्छाउँदै आएको भन्दै आयोजना खारेज गरे सरकारको बजेटले बाँकी काम गर्न सकिने बताएका थिए।
स्थानीय अनिलकुमार झा, अशोक महासेठ, मोहनवर सिंह प्रधान, इश्वर मगरलगायत टोलीमा सहभागीले आयोजना भ्रष्टाचारको अखडा बनेको, २३ वर्षदेखि करोडौँको स्थानीयको जग्गा बिक्री गरेर कमिसन, भ्रष्टाचार गरेर आयोजना सम्पन्न नगरी अड्काएर राखेको, स्थानीयलाई विद्युत्को सहज आपूर्ति, खानेपानीको व्यवस्था, ढलको उचित व्यवस्थापन र पक्की सडकको समेत व्यवस्था नगरेको भन्दै भ्रष्टाचारको छानबिनसमेत गर्नुपर्ने माग गरे।
आडाम्स र ठिमीको माग पूरा नगरे जेनजीसहितको सहभागितामा आयोजना र पालिकाविरुद्ध कडा आन्दोलन सुरु गर्ने उनले बताए। आयोजनाको निमित्त प्रमुख झाले आयोजनाको दैनिक कार्य सम्पदाका लागि नगरपालिकाले आफूलाई करारमा नियक्त गरेको बताउँदै माग पूरा गर्ने अधिकार आफूसँग नरहेकाले ज्ञापनपत्रमा उल्लेख भएका मागलाई नगरपालिका, उपभोक्ता समिति र नगर विकास कार्यालयमा पुर्याइदिने बताए।