काठमाडाैं। जेनजी आन्दाेलनका क्रममा भदाै २६ मा काठमाडौं, ललितपुरका युलेन्स स्कुलमा आगजनी एवं ताेडफाेड गर्नेमाथि कारबाही गर्न विद्यालय व्यवस्थापनले सरकारसमक्ष माग गरेको छ। सुशासनको नाममा लिन खोजिएको अराजकताले सिर्जित ठूलो मानवीय र भाैतिक दुर्घटनामा परेका शोकाकुल परिवारप्रति स्कुल व्यवस्थापनले समवेदना प्रकट गरेकाे छ।
घटनामा देशका ऐतिहासक तथा महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति, व्यक्तिगत तथा व्यापारिक प्रतिष्ठान, व्यक्तिको निजी सम्पत्ति, विद्यालय शान्ति क्षेत्र हो भन्ने मूल मर्म विपरीत देशका विभिन्न प्रतिष्ठित विद्यालयमाथि आक्रमण गरिएको, आगजनी, तोडफोड तथा लुटपाटको घटनामा संलग्न अपराधीलाई कडा कानुनी कारबाही गर्न र सुरक्षासहितको सुदृढ व्यवस्था कायम गर्न उनीहरूकाे माग छ।
घटनामा युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित युलेन्स स्कुल, युलेन्स स्कुल काठमाडौं, ललितपुर र युलेन्स स्कुल खुमलटारमाथि भएको विध्वंसपूर्ण घटनाका कारण विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. आरजु राणा देउवाले राजीनामा दिने निर्णय गरेकाे स्मरण गराइएकाे छ।
घटनाबाट युलेन्स परिवारमा पर्न आएको गहिरो चोटका कारण राजीनामाकाे निर्णय स्वागतयाेग्य रहेकाे फाउन्डेसनले जनाएकाे छ। स्कुलमा रहेका कम्प्युटर, क्यामेरा आदिसहित महत्वपूर्ण शैक्षिक भौतिक सामग्री लुटपाट गरिएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको सम्पूर्ण कागजात तथा व्यक्तिगत सामग्रीसमेत जलाइएको र तोडफोड तथा आगजनीमा संलग्न समूहले शैक्षिक र सामाजिक प्रतिष्ठामा क्षति पुर्याएकाले फाउन्डेसनले छानबिनकाे न्यायिक माग गरेकाे छ।
युलेन्स एजुकेसन फाउन्डेसनले विद्यालयलाई अफवाह र दुष्प्रचारबाट जोगाउँदै सकारात्मक शिक्षण वातावरण पुनः स्थापना गर्ने प्रतिबद्धता जनाएकाे छ। ‘हामी युलेन्स परिवारका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई विश्वास दिलाउँछौं, विद्यालयका सबै विद्यार्थीलाई भविष्यमा सकारात्मक मार्ग दिनेछौं। नवीनतम मार्गचित्रसहित युलेन्स स्कुल काठमाडौं र युलेन्स स्कुल ललितपुरले पठनपाठन सुचारु गरिसकेका छन्’,विज्ञप्तिमा भनिएकाे छ।
