काठमाडौं । सरकारले राजधानीमा बढ्दो बिजुलीको माग पुरा गर्न प्रसारण प्रणाली क्षमता दोब्बर बनाउने भएको छ । बिजुली आपूर्ति प्रणालीको क्षमता बढाउन हिमाल सिमेन्ट कारखाना हटाएर निर्माणको क्रममा रहेको सुक्खा बन्दरगाह नजिक सवस्टेशन बनाउने तयारी सरकारको छ ।
सवस्टेशन बनाउन जग्गा दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिसकेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताए । उद्योग मन्त्रालयले त्यसलाई स्वीकार गरिसकेको उनले जानकारी दिए । त्यहाँ छिट्टै सवस्टेशन राख्ने तयारी भएको उनले सुनाए ।
काठमाडौं उपत्यकामा अहिले ५०० मेगावाटसम्म आपूर्ति गर्ने क्षमता रहेको छ । यसलाई दोब्बर बनाएर १ हजार २०० मेगावाट बिजुली प्रसारण गर्ने संरचना बनाउन लागेको मन्त्री पुनले जानकारी दिए । ‘गत हिउँदमा ४५० मेगावाटसम्मको माग भएकाले त्यसले काठमाडौँ उपत्यकामा चाप परेको देखियो’ उनले भने ‘जहाँजहाँ सम्भव हुन्छ त्यहाँ ट्रान्सफरमर नयाँ जडान गरेर बिजुली आपूर्ति बढाउने छौ ।’
नयाँ सवस्टेशन बनेपछि ललितपुर र भक्तपुरमा बिजुली उपलब्ध गराउन थप सहज हुने मन्त्री पुनको भनाई छ । चक्रपथभन्दा बाहिर पनि यही सवस्टेशनले काम गर्ने छ । चक्रपथभित्रको आपूर्तिमा सहज हुने मन्त्री पुनको भनाई छ । उपत्यकाको विद्युत प्रणालीलाई भुमिगत गरेर ठूलो क्रान्तिकारी सुधारको काम अघि बढी सकेको उनले जानकारी दिए ।
‘प्रणाली जडान हुनेबित्तिकै भरपर्दो खालको प्रणाली विकास हुन्छ । ट्रिपिङको अवस्था रहँदैन’ उनले भने ‘सवस्टेशनको क्षमता विकास गर्छौ । काठमाडौँ भित्रने केही लाइनमा सुधार गर्दैछौँ । त्यसो हुँदा काठमाडौँमा एक हजार २०० मेगावाटसम्म पनि खपत गर्न सकिने खालको प्रणाली विकास हुन जान्छ ।’
उपत्यकामा वर्षेनी बिजुलीको माग बढ्ने गरेको छ । अहिले पनि ७ लाख बढी इन्डक्सन चुलोको प्रयोग भइरहेको छ । लकडाउन अगाडिको देशभरको ‘डिमाण्ड’ नै १ हजार २०० मेगावाट बढी थियो । त्यसपछि झरेर ७०० मेगावाटमा आयो । रातको समयमा त्यो पनि घटेर ५०० मेगावाटको हाराहारीमा आउँछ ।
बिहान ७०० मेगावाटको हाराहारीमा पुग्छ, साँझ पनि अवस्था त्यही छ । किनभने काठमाडौंमा इन्डक्सन प्रयोग भएको छ । गुणात्मक रुपमा विद्युत् खपत वृद्धि गर्न प्रसारण तथा वितरण प्रणालीमा सुधारको योजना रहेको मन्त्री पुनले सुनाए ।