काठमाडौं। आज देशभर हिन्दु धर्मावलम्बीले धनतेरस, जसलाई धन त्रयोदशी वा धनवन्तरी त्रयोदशी पनि भनिन्छ, उत्साहका साथ मनाइरहेका छन्। यो पर्व तिहारको पहिलो दिनका रूपमा मनाइन्छ र यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व निकै गहिरो छ।
पौराणिक मान्यताअनुसार प्राचीनकालमा देवता र असुरबीच भएको समुद्र मन्थनका क्रममा आरोग्यका प्रवर्तक भगवान धनवन्तरी अमृतले भरिएको कलश हातमा लिएर समुद्रबाट प्रकट भएका थिए। त्यसैले उनलाई ‘पीयूषपाणि धनवन्तरी’ पनि भनिन्छ। भगवान् विष्णुको अवतार मानिने धनवन्तरीको जन्मोत्सवकै दिन धनतेरस पर्व मनाइने परम्परा रहेको छ।
यस दिन घर–आँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने र नयाँ भाँडाकुँडा, पित्तल वा कपरका पात्रहरू, सुनचाँदीका गहना र नयाँ सामग्री किन्ने परम्परा छ। यो किनमेल समृद्धि र शुभताको प्रतीक मानिन्छ। तर, धार्मिक मान्यताअनुसार धनतेरसमा किनमेल नै गर्नैपर्छ भन्ने अनिवार्यता छैन। भाँडाकुँडा खरिद गर्नु भने शुभ मानिन्छ किनकि धनवन्तरीले समुद्र मन्थनको बेला अमृतले भरिएको कलश बोकेका थिए।
धनतेरसको सन्ध्याकालमा घरको मूलद्वारमा यमराजलाई समर्पित दियो बाल्ने चलन पनि छ। यसरी दियो बालेर मृत्युदेव यमराजलाई घरभित्र नपस्न र परिवारमा दुःख–कष्ट नआओस् भन्ने कामना गरिन्छ। यस धार्मिक प्रथाले स्वास्थ्य, दीर्घायु र आरोग्यताको प्रतीकात्मक अर्थ बोकेको छ।
आर्य संस्कृतिमा स्वास्थ्यलाई धनभन्दा महान् सम्पत्ति मानिन्छ। त्यसैले यस दिन धनकी देवी लक्ष्मीको पूजा आरम्भ गर्नु अघि यमराजको उपासना गरिन्छ। यसरी धनतेरसले धन, स्वास्थ्य र शुभताको सन्तुलित सन्देश दिने गर्दछ।
सांस्कृतिक रूपमा यो पर्व वैश्य र मारवाडी समुदायमा विशेष महत्व राख्छ। भारतको राजस्थानको मारवाड क्षेत्रबाट व्यापारका लागि नेपाल आएका मारवाडीले यो पर्वलाई विशेष रुपमा मनाउने चलन फैलाएका हुन्। उनीहरूका अनुसार धनतेरसले लक्ष्मी प्रवेशको सुरुवात जनाउँछ। त्यसका लागि द्वादशीदेखि घर–कार्यालयमा सरसफाइ गरिन्छ, नयाँ भाँडा किनिन्छ र भोलिपल्ट नुहाएर ताजा भएर लक्ष्मीपूजाको तयारी गरिन्छ।
मारवाडी समुदायका एकजना व्यवसायीका अनुसार, “हामी कपडाको व्यापार गरेर नेपाल आएका हौँ, त्यसैले हाम्रो पेसा धन र लक्ष्मीसँग जोडिएको छ। धनतेरसमा भाँडा किन्ने र लक्ष्मीपूजा गर्ने हाम्रो संस्कृतिको मूल भाग हो।”
संस्कृति समयसँगै फैलिने विषय हो। जसरी मारवाडी समुदायले नेपालमा व्यापारसँगै धनतेरस र लक्ष्मीपूजाको परम्परा ल्याए, त्यसैगरी आज यो पर्व अन्य समुदायमा पनि समान श्रद्धा र उल्लासका साथ मनाइन्छ।
यसरी धनतेरस केवल किनमेलको दिन होइन, स्वास्थ्य, दीर्घायु, र आत्मिक समृद्धिको प्रतीकात्मक पर्व हो — जहाँ धनवन्तरी र लक्ष्मीको आराधनासँगै मनुष्यले स्वास्थ्य र सम्पत्तिको सन्तुलित जीवनका लागि दीप प्रज्वलन गर्छ।