काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा सम्पन्न ‘निजी क्षेत्रको ऐक्यबद्धताका लागि साझा संवाद’ भेलाले नेपालका प्रमुख निजी क्षेत्रका छाता संस्थाहरू एक ठाउँमा आई राष्ट्रिय महत्वका विषयमा साझा संकल्प व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ नेपाललगायतका संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित भेलाले बदलिँदो राजनीतिक परिस्थितिबाट उत्पन्न चुनौतीको समाधान गर्न र राष्ट्रिय मुद्दामा एकीकृत धारणा निर्माण गर्न चार सूत्रीय कार्ययोजना सार्वजनिक गरेको हाे।
साझा अवधारणाले राष्ट्रिय सुरक्षा, स्थायित्व, पारदर्शिता र विश्वास पुनर्निर्माणलाई केन्द्रमा राख्दै स्वच्छ र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्धता तथा भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनमा जोड दिएको छ। भेलाले एनबीआईको समन्वयमा निजी क्षेत्रका अग्रणी संघसंस्थाका प्रमुखसहितको कार्यदल गठन गरी सरकार, जेनजी, राजनीतिक दललगायतका सरोकारवालाहरूसँग संवाद गर्ने सहमति गरेको छ। उक्त कार्यदलले अन्तरिम सरकारलाई स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने र राज्यले व्यवसायको सुरक्षा सुनिश्चित गर्ने माग राख्नेछ।
सरकारी निकायहरूसँग बैठक गरी सफल निर्वाचन सुनिश्चित गर्न, सुशासन प्रवर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुरक्षा निकायहरूको पूर्वाधार तथा मनोबल सुदृढ गर्न आवश्यक पहल गर्ने कार्ययोजनामा उल्लेख छ। यसैगरी निजी क्षेत्रको योगदान र अर्थतन्त्रमा यसको सकारात्मक प्रभावबारे तथ्य साझा गरी गलत धारणा सच्याउने र जेनजीसँग सहकार्यका लागि साझा भाष्य विकास गर्ने निर्णय गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनबीआईका अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई प्रभावकारी बनाउने पहल गरिएको बताएका छन्। यस्तै, एफएनसीसीआईका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले भ्रष्टाचार र कमजोर नेतृत्वको समस्यालाई औँल्याउँदै शान्ति र अनुकूल वातावरणको आवश्यकतामा जोड दिए।
सीएनआईका अध्यक्ष बिरेन्द्र राज पाण्डेले एकता, इमानदारी र सुशासनमार्फत सार्वजनिक विश्वास पुनःनिर्माणका लागि आह्वान गरेका छन्।