बीबीसी । कोरोना भाइरस महामारीका कारण दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुने देखिएको छ।कारोना महामारीले गर्दा यो क्षेत्रले दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्ने छ।
भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म कम भए पनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ।
दक्षिण एशियामा १ अर्ब ८० करोड मानिसहरू बस्छन् र यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्।
दक्षिण एशिया प्रत्युत्पादक असरको आँधीमा छ। पर्यटन छैन्, आपूर्ति तोडिएको छ, कपडाको माग छैन र ग्राहक एवम् लगानीकर्ताहरू निराश छन्,ू विश्व बैंकको प्रतिवेदनमा भनिएको छ।
बैंकले यो क्षेत्रमा यो वर्ष आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने आकलन गरेको छ। यो आकलन वर्षको शुरूमा ६.३ प्रतिशत थियो।
गम्भीर आर्थिक मन्दी हुनसक्ने
दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा गम्भीर आर्थिक मन्दीमा देखिन सक्छ। सबैभन्दा ठूलो असर माल्दीभ्समा देखिने छ। महँगो पर्यटनले धानेको त्यहाँको आर्थिक उत्पादन १३ प्रतिशतसम्मले घट्ने छ।
दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारतमा १.५ प्रतिशत मात्रै वृद्धि हुने छ जुन शुरूमा प्रक्षेपण गरिएको भन्दा ३.५ प्रतिशतले कम हो।
नेपालबारे विश्व बैंकको भनाई
प्रतिवेदनमा दक्षिण एशियाका सबै देशहरूमा कोरोना भाइरसका कारण आर्थिक प्रभाव पर्ने बताइएको छ। नेपाल र माल्दीभ्सको अर्थतन्त्रमा पर्यटनको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै प्रतिवेदनले नेपालमा लगातार दुई वर्ष प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कमी आउने बताइएको छ। नेपाल र माल्दीभ्सको ठूलो जनशक्ति प्रत्यक्ष र परोक्ष रूपमा पर्यटनमा आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारलाई तयारी गर्न सुझाव
विश्व बैंकले यहाँको सरकारहरूलाई स्वास्थ्य आपत्कालमा आफ्ना नागरिकहरूलाई जोगाउन र द्रुत आर्थिक गतिका लागि तयार हुने गरी कार्य गर्नू सुझाव दिएको छ।
विश्व बैंकले वैदेशिक रोजगारीमा गएकाहरूका लागि अस्थायी रोजगार योजना, एवम् व्यापारी र व्यक्तिहरूका लागि ऋण राहत दिँदै अत्यावश्यक आयात निर्यातका लागि प्रशासनिक झन्झट कम गर्न सुझाव दिएको छ।
गएको साता विश्व बैंकले खतरामा रहेका देशहरूलाई महामारीको बेला आर्थिक सङ्कटबाट निस्कन आगामी १५ महिनामा १ खर्ब ६० अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको थियो।