काठमाडौं। जापानमा निश्चित सीपयुक्त श्रमिक (एसएसडब्लू) पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। जापानस्थित नेपाली दूतावासले असोज २७ गतेदेखि मागपत्र प्रमाणीकरणको काम प्रारम्भ गरेको जनाएको छ।
दूतावासका अनुसार निश्चित सीपयुक्त श्रमिक पठाउने प्रक्रिया प्रचलित कानुन, नियमावली, निर्देशिका र सम्बन्धित कानुनी प्रावधानअनुसार अघि बढाइएको हो। मागपत्र प्रमाणीकरणका लागि आवश्यक सबै कागजात दूतावासको वेबसाइटमा उपलब्ध गराइएको र त्यही अनुसार निवेदन पेस गर्न सकिने जनाएको छ।
एसएसडब्लू कार्यक्रमअन्तर्गत १६ विभिन्न क्षेत्रमा सिपयुक्त श्रमिक पठाइने छन्। तीमध्ये नर्सिङ केयर, बिल्डिङ क्लिनिङ, इन्डस्ट्री मेसिनरी, कन्स्ट्रक्सन, सिपबिल्डिङ, एभिएसन, हस्पिटालिटी, एग्रिकल्चर, मत्स्यपालन, अटोमोबाइल, पेय पदार्थ उत्पादन र खाद्य सेवा उद्योग प्रमुख क्षेत्र हुन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार मागपत्र प्रमाणीकरण सुरु भएसँगै कामदार ठगी वा अवैध माध्यमबाट जापान जाने जोखिम घट्नेछ। उनले भने, ‘दूतावासमार्फत मागपत्र प्रमाणीकरण सुरु भएपछि नेपाली कामदारले अब सुरक्षित र व्यवस्थित ढंगले जापान जान सक्ने छन्।’
जापानले एसएसडब्लू कार्यक्रमअन्तर्गत भारत, फिलिपिन्सलगायत देशबाट पहिल्यै धेरै संख्यामा श्रमिक लगिसकेको छ। नेपाल र जापानबीच भने सन् २०१९ मै श्रमिक पठाउने सम्झौता भए पनि प्रशासनिक प्रक्रिया ढिलो हुँदा हालसम्म कामदार पठाउन सकिएको थिएन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ २०८१ मा सम्बन्धित कार्यविधि स्वीकृत गरेको थियो। त्यसपछि पनि मागपत्र प्रमाणीकरण हुन नसक्दा प्रक्रिया रोकिएको थियो। अब यो चरण सुरु भएसँगै नेपाली सिपयुक्त श्रमिकले जापानमा राम्रो सेवा, तलब र सुरक्षा सुविधासहित रोजगारी पाउने अपेक्षा गरिएको छ।