काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मेलापर्व लक्षित सञ्चालनमा ल्याएको सहुलियत मूल्यका पसल कात्तिकभर सञ्चालन हुनेछन् भने साल्ट्र ट्रेडिङले कात्तिक १० देखि बन्द गरेको छ।
खाद्यले सहुलियत मूल्य पसल कात्तिक ३० सम्म लागि निरन्तरता दिइने जनाएको छ। चाडपर्वलक्षित सहुलियत मूल्य पसल गत भदौ ३० देखि कात्तिक १० सम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा खाद्यले समय बढाएर कात्तिकभर पुर्याएको हो। 
खाद्य कम्पनीलाई चाडपर्वमा उपभोक्तालाई सहुलियत दिएबापत सरकारले शोधभर्ना गर्ने भनेको रकममा एक तिहाइ (६६ लाख रुपियाँ) बाँकी रहेकाले कात्तिकसम्म निरन्तरता दिने निर्णय भएको कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले बताए। 
सरकारले यस वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य कम्पनीलाई २ करोड शोधभर्ना गर्ने भनेको थियो।कम्पनीले उपत्यकासहित देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।
कम्पनीले सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट दिँदै आएको छ । यस्तै, विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएको छ।
विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपैयाँ छुटको दिएको कम्पनीले जनाएको छ। 
साल्ट ट्रेडिङका सुपथ मूल्य पसल बन्द
साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल कात्तिक १० देखि बन्द भएका छन्। कर्पोरेसनले बागमती प्रदेशमा १४ स्थान र तीन मोबाइल भेनसहित गरी १७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो। 
कर्पोरेसनले चिनी प्रतिकेजी पाँच, नुन प्रतिकेजी दुई, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपैयाँका दरले छुट दिएको थियो।