काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले विकराल रुप लिन थालेपछि वहुपक्षीय दातृ निकायहरुले आपतकालिन सहयोगको घोषणा गरिरहेका छन ।
नेपाललाई सहयोग गर्दै आएका विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी) नेपाललाई यस पटक पनि अपतकालिन सहयोग दिने घोषणा गरेका छन । यी दातृनिकायहरुले झण्डै साढे २२ अर्ब रुपैयाँ बराबरको आपतकालिन सहयोग घोषणा गरेका छन ।
यसमध्ये विश्व बैंकले झण्डै साढे ३ अर्ब रुपैयाँ अर्थात २ करोड ९० लाख डलर दिने विषयमा अर्थ मन्त्रालयसंग सम्झौता भइसकेको छ । एडीबीले ६ अर्ब र आईएमएफले पनि झण्डै १३ अर्ब सहयोग गर्ने छ ।
एडीबीले सदस्य मुलुकहरुको कोरोनाबाट भएको क्षतिका लागि लक्षित गरी २० अर्ब डलरको सहायता प्याकेज ल्याइसकेको छ । यस्तै आईएमएफले नेपाललगायत गरिव मुलुकलाई ५० करोड डलरको आपतकालिन राहात योजना घोषणा गरेको छ ।
कोरोना महामारीले थिलथिलो अवस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई उकास्न अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न वहुपक्षीय दातृ निकायहरुलाई ४ ओटा महत्वपूर्ण सुझावहरु दिएका छन ।
उनले हालै भिडियो कन्फरेन्सबाट नेपाललाई आवश्यक पर्ने साहयताको विषयमा स्पष्ट पारेर सहयोगका लागि अपिल समेत गरेका छन ।
पहिलो, परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायता उपकरणबाट मात्र अहिलेको संकट समधान नहुने अर्थमन्त्री खतिवडाले स्पष्ट पारेका छन । उनका अनुसार नवीनतम सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र नेपालको संकटको समधान हुने छ ।
दोस्रो, नियमित रुपमा उपलब्ध भइरहेकोमा अतिरिक्त स्रोत तथा साधनबाट मात्र संकटको समधान हुने छ ।
तेस्रो, विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम प्रक्रियाको परिमार्जनलाई सरलीकरण गर्नुपर्ने हुन्छ ।
चौथो, वैदेशिक ऋणको सावाँ, ब्याज भुक्तानी केही वर्ष पर सार्नुपर्ने र द्धिपक्षीय दातृ मुलुकहरुले ऋण मोचनमा सदायसता देखाउनु पर्ने अवस्था आउने अर्थमन्त्री खतिवडाको सन्देश थियो ।
यी उपायहरु नेपाल जस्तो सीमित स्रोत तथा साधन भएका मुलुकमा अबलम्बन गरिएमा स्वास्थ्य पुर्वाधार क्षेत्रमा थप लगानी र आर्थिक परनरुत्थानमा सहयोग पुग्ने अर्थमन्त्री खतिवडाको भनाई थियो ।
कोरोना रोकथाम, उपचार तथा वाह्य स्रोत परिचालन गर्न अर्थसचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने अर्थमन्त्रीले बताएका छन । समितिमा सरकारका अतिरित्त, निजी क्षेत्र र दातृनिकायको प्रतिनिधित्व समेत हुने छ ।
अर्थमन्त्री खतिवडाले भिडियो कन्फरेन्सबाट विश्व बैंक, एडीबी, आईएमएफ र एसियाली पुर्वाधार विकास बैंकका प्रतिनिधिसंग छलफल गरेर आफनो सुझाव दिएका थिए ।
अर्थमन्त्रीले कारोनाका कारणबाट अर्थतन्त्रमा देखिएको चुनौतिको समधान गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी दिदै उनले थप साहयता परिचालनका लागि दातृनिकायहरुलाई अनुरोध समेत गरेका थिए ।
विश्व बैंकले कोरोना भाइरस महामारी लामो समयसम्म लम्बिने संकेत गर्दै नेपालको आर्थिक विस्तार खुम्चिएर १.५ देखि २.८ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । यस्तै एडीबीले पनि आर्थिक विस्तार खुम्चिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
कोरोना महामारीले सरकारले बन्दावन्दी (लकडाउन) को आदेश दिएपछि आर्थिक गतिविधिहरु ठप्प भएका छन । सरकारको विकास खर्च हुने महत्वपुर्ण समयमा मुलुक बन्द छ । पर्यटन क्षेत्र धरासायी बनेको छ । कोरोना महामारीले गर्दा रेमिट्यान्स आप्रवाहमा गम्भीर असर गरेको छ ।