काठमाडौं। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ लाख १० हजार ५१६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले विवरण सार्वजनिक गरेको छ।
विभागका अनुसार चालू आव २०८२/८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि उक्त संख्याले श्रम स्वीकृति लिएको हो। गत आव २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ।
चालू आवमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९१३ जनाले बढी रहेको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जनाए। पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको उनको भनाइ छ।
श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानुन परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा श्रमिक अभावका कारण माग पनि बढेको विभागको अनुमान छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको समाचार सार्वजनिक भएका थिए। यद्यपि, असोजमा ती देश जान श्रम स्वीकृति लिएकाको संख्या ठूलो रहेको छ। युएईले असोज पहिलो साता नेपालीका लागि भ्रमण भिसा बन्द गरेको थियो।
असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७९१ जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतका लागि चार हजार ५२३ जना छन्।
गत आवमा रोजगारी खोज्दै ८ लाख ३९ हजार बढी युवा बिदेसिएका थिए।