काठमाडौं। गत भदौ तेस्रो साता जेनजीको आन्दोलनसँगै देखिएको आर्थिक तथा राजनीतिक परिस्थितिबारे निजी क्षेत्रका छाता संगठनका शीर्ष नेतृत्वबीच छलफल भएको छ। औद्योगिक क्षेत्रहरू आन्दोलनकारीको निसाना परेसँगै तोडफोड र आगजनी भएको थियो।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को संयोजनमा भएको छलफलमा देशको व्यावसायिक वातावरणमा निजी क्षेत्रको योगदानसँगै भूमिकाबारे आम नागरिकलाई स्पष्टता बनाउनुपर्ने उनीहरूको धारणा थियो।
देशको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गरी खर्बौं कर तिर्दै आएको व्यावसायमाथि आन्दोलनका नाममा तोडफोड र आगजनी हुनु दुःखद् भएको छाता संगठनका शीर्ष नेतृत्वहरूको भनाइ थियो।
‘राष्ट्रलाई खर्बौं करका माध्यमबाट ८० प्रतिशतभन्दा बढी योगदान छ। देशभर ५० लाख नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना भएको कसैसामू छिपेको छैन। हालको परिस्थितिमा व्यवसायलाई सहजता प्रदान गर्नु अत्यन्तै कठिन र चुनौतीपूर्ण छ,’ संगठनका शीर्ष नेतृत्वहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट अनुभव र सिकाइको दायरालाई फराकिलो बनाउँदै व्यावसायिक प्रवर्द्धन गर्ने गरी काम गर्ने व्यवसायीहरूले प्रतिबद्धता जनाए।
यसैबीच एनबीआईको संयोजनमा कार्यदल गठन गरी सरकार, राजनीतिक दल, नवयुवालगायतका सरोकारवालासँग सहकार्य गर्दै निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने, व्यवसाय सञ्चालनको सुरक्षाका लागि कानुनको सुदृढ कार्यान्वयन सुनिश्चित गर्ने, आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने र उद्यम तथा उद्यमीहरूको सुरक्षामा राज्यको जिम्मेवारीलाई अपरिवर्तनीय सर्तका रूपमा स्थापित गर्ने निर्णय भएको छ।
बैठकले निजी क्षेत्रका प्रतिनिधिले सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने, सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने, सुरक्षा निकायहरूको मनोबल र संरचना सुदृढ पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट अनुभव र सिकाइको दायरालाई फराकिलो बनाउँदै व्यावसायिक प्रवर्द्धन गर्ने गरी काम गर्ने व्यवसायीहरूले प्रतिबद्धता जनाए।
बैठकमा राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघ अध्यक्षका वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष दिपक श्रेष्ठ, होटस संघ नेपालका अध्यक्ष विनायक शाहसहित तीन दर्जनभन्दा बढी विभिन्न व्यवसायिक संघका अध्यक्षहरू उपस्थित रहेका थिए।