काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न सरकारले चीन र भारतबाट जीटुजी प्रक्रियामार्फत् ल्याउने सामानका लागि बजेट स्वीकृत गरेको छ।
सरकारले बजेट स्वीकृत गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले स्वास्थ्य सामाग्री आयात गर्न प्रक्रिया अघि बढेको जानकारी दिएका छन। सरकाले सेनालाई जीटुजी प्रक्रिया अनुसार सामान किन्ने जिम्मा दिइएको छ।
सेनाले रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भारतबाट ५३ थरी औषधी र चीनबाट ६७ किसिमका स्वास्थ्य उपकरण लगायतका सामग्रीको अन्तिम सूची तयार गरेको छ ।
पहिले ४०० थरीका सामान र औषधीको सूची बनाइएकोमा अन्तिम रूप दिँदा कुल १२० थरीमा सीमित भएको छ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने स्वास्थ्य मन्त्रालयबाट सामानको प्रकार र परिमाणलाई अन्तिम रूप दिएर पठाएको सूची सम्बन्धित निकायमार्फत् सम्बन्धित देशहरूमा गइसकेको बताए र
सामानको सूची पठाइसकेपछि सम्बन्धित देशहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ। बिहीवार बिहान उक्त सम्झौता पत्र प्रधानसेनापतिबाट स्वीकृत भइसकेको छ। रक्षा हुँदै परराष्ट्र मन्त्रालयबाट दुवै देशमा पठाउने गरिन्छ।
भारतले दिने औषधीहरू दिल्लीस्थित नेपाली दूतावासमा पठाइदिने जनाएको अधिकारीहरूले बताएका छन्। चीनले ग्वान्जाओमा सामान दिने र त्यहाँबाट नेपालले ल्याउनु पर्ने हुन्छ।
दुई विमान चीनतर्फ
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमका दुईवटा जहाज बिहीवार साँझ चीनको ग्वान्जाओतर्फ उडेका छन्।
निजी कम्पनीहरूले स्वास्थ्य सामग्री ल्याउन भाडामा लिएका ती विमान शुक्रवार बिहान फर्किने तालिका छ।
त्यस्तै स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरूको सुरक्षाको निम्ति आवश्यक हुने पीपीई, मास्क लगायतका सामान ल्याउन पाँचवटा निजी कम्पनीलाई जिम्मेवारी दिने निर्णयमा पुगेको छ ।