कमलपोखरीका निरोज लामाले एसएलसी दिएपछि समयको सदुपयोग गर्न केही साथीहरूसँग जिममा भर्ना भए र अन्ततः यही क्षेत्रमा स्थापित भए। स्वास्थ्य भनेको केवल रोग नहुनु होइन, मन, शरीर र आत्माको सन्तुलन हो भन्ने लामाले यही सोचका साथ फिटनेसलाई वेलनेस र माइन्डफुलनेससँग जोड्ने काम गरे। काठमाडौंको ज्यास्मिन फिटनेस क्लबदेखि पछिल्लो समय पोखराको आभ्याक्लबका सञ्चालक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका लामासँग क्यापिटल म्यागजिनका लागि जमुना वर्षा शर्माले गरेको कुराकानीः
काठमाडौंमा ज्यास्मिनदेखि पोखराको आभ्या क्लबसम्मको यात्रा कसरी तय भयो?
फिटनेस धेरै पहिलेदेखि नै मेरो जीवनको हिस्सा बनेको हो। सन् २००६ तिर काठमाडौंमा ‘ज्यास्मिन फिटनेस सेन्टर’ सञ्चालनमा संलग्न थिएँ। तर, व्यायामप्रतिको मोह भने एसएलसीपछि सुरु भएको हो।
बिदा सदुपयोग गर्ने सोचले जिम जान थालें र त्यसपछि बुझें– व्यायामले शरीर मात्र होइन, सोच र जीवनशैली दुवै परिवर्तन गर्छ। जिमले मलाई अनुशासित बनायो, सकारात्मक सोच सिकायो, र खराब संगतबाट टाढा रहन मद्दत गर्यो। यही अनुभवले फिटनेसलाई जीवनको उद्देश्य बनायो। पछि, पोखराको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मलाई तानेर ल्यायो।
आभ्या क्लब कहिले र कसरी स्थापना भयो?
सन् २०१८ तिर हामी पाँच जना साझेदार रोशन केसी, किरण केसी, विश्व गौतम, प्रकाश केसी, वरुण खड्का र अशोकबहादुर मल्ल मिलेर यो अवधारणा ल्यायौं। २०१९ तिर निर्माण सुरु भयो तर कोभिडका कारण ढिलाइ भयो। अन्ततः सन् २०२३ मा पूर्ण रूपमा सञ्चालनमा ल्यायौं। हाम्रो लक्ष्य थियो– पोखराका स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि अन्तर्राष्ट्रिय मापदण्डको फिटनेस र वेलनेस गन्तव्य बनाउने। सोही परिकल्पनाअनुसार २० रोपनी क्षेत्रफलमा आभ्या क्लब सञ्चालनमा आएको हो ।
आभ्या क्लबलाई अरू जिमभन्दा फरक बनाउने मुख्य पक्ष के हो?
आभ्या क्लब केवल व्यायामशाला होइन, वेलनेस र माइन्डफुलनेसको केन्द्र हो। यहाँ शरीर, मन र आत्माको सन्तुलनमा जोड दिइन्छ। हामीले योगा, जुम्बा, साउना, स्टिम, आइस बाथ, स्पा, मसाज, टेनिस कोर्ट, रेस्टुरेन्ट र क्याफेजस्ता सबै सुविधा एउटै छानामुनि उपलब्ध गराएका छौं। हाम्रा हरेक गतिविधि सकारात्मक सोच र स्वस्थ जीवनशैली विकासमा केन्द्रित हुन्छन्।
जिमले मलाई अनुशासित बनायो, सकारात्मक सोच सिकायो, र खराब संगतबाट टाढा रहन मद्दत गर्यो। यही अनुभवले फिटनेसलाई जीवनको उद्देश्य बनायो।
त्यसैले हामी फिटनेसका बहुआयामिक पक्षसँग जोडिएका छौं। क्लबले विश्वस्तरीय ब्रान्ड जस्तै, लाइफ फिटनेस प्रिकोर, इकारियन, ह्यामर स्ट्रेन्थका करिब ७० वटा अत्याधुनिक उपकरण थपेको छ। यो लगानीले सबै तहका फिटनेसप्रेमीलाई अझ उत्साहित बनाएको छ। माइन्डफुलनेस, आर्ट थेरापी र ‘सटरडे मार्केट’ जस्ता कार्यक्रम पनि आयोजना हुन्छन्, जसले मानिसलाई मानसिक र सामाजिक रूपमा सशक्त बनाउँछ।
फिटनेसलाई सामाजिक र सामुदायिक अवधारणासँग पनि जोड्नुभएको छ। त्यसको उद्देश्य के हो?
हामी स्वास्थ्यसँगै समुदायलाई सशक्त बनाउन चाहन्छौं। हरेक महिना शनिबार आयोजना हुने ‘सटरडे मार्केट’मा स्थानीय किसान र साना उद्यमीलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर दिन्छौं। यसले स्थानीय अर्थतन्त्रलाई बल दिनुका साथै चित्रकला कार्यशालाले सिर्जनशीलतालाई प्रवद्र्धन गर्छ।
पोखराजस्तो सहरमा यति ठूलो परियोजना सञ्चालन गर्दाका चुनौती के छन्? अहिले सदस्य संख्या कस्तो छ?
पोखरा पर्यटकीय सहर भएकाले यहाँका मानिस वेलनेस र फिटनेसप्रति सजग छन्। सुरुमा केही चुनौती थिए। स्रोत, प्राविधिक पक्ष र जनचेतना तर अहिले प्रतिक्रिया निकै सकारात्मक छ।
विदेशी पर्यटकदेखि स्थानीय युवासम्म सबैको आकर्षण बढ्दो छ। धेरैले पारिवारिक वातावरण, स्वच्छता र विश्वस्तरीय उपकरणको प्रशंसा गरेका छन्।
विदेशी पर्यटकदेखि स्थानीय युवासम्म सबैको आकर्षण बढ्दो छ। धेरैले पारिवारिक वातावरण, स्वच्छता र विश्वस्तरीय उपकरणको प्रशंसा गरेका छन्। कतिपयका लागि यो उनीहरूको दिनको ऊर्जा केन्द्र बनेको छ। अहिले साढे दुई सय सदस्य छन्। हाम्रो रेगुलर प्याकेज ८ हजार ५ सयमा अहिले ५० प्रतिशन छुट गरेर ४ हजार २५० रुपैयाँ शुल्क रहेको छ।
आगामी योजना के छन्?
अब हामी नयाँ फिटनेस प्रोग्राम र वेलनेस रिट्रिट प्याकेज प्याकेज ल्याउँदै छौं। साथै, पोखरालाई वेलनेस टुरिजमको गन्तव्य बनाउने दीर्घकालीन लक्ष्य छ। हाम्रो नारा नै हो–‘फिटनेस इज फर अल’–सबैले स्वस्थ र खुसी जीवन जिउन पाउन् भन्ने हो । ‘पोस्ट–ट्रेक रिल्याक्सेसन प्याकेज’ विस्तार गर्ने तयारीमा छौं।
पोस्ट–कोभिडपछि फिटनेसप्रतिको रुचि कस्तो देख्नुभयो?
कोभिडले मानिसलाई स्वास्थ्यको वास्तविक महत्त्व बुझायो। अहिले फिटनेस लक्जरी होइन, आवश्यकताको रूपमा बुझिन्छ । पोखरामा त फिटनेस नयाँ ट्रेन्ड बनेको छ। युवा पुस्तादेखि वृद्धवृद्धासम्म सबै व्यायामतर्फ आकर्षित भएका छन्। दुई वर्षे अवधिमा आभ्या क्लबले उत्कृष्ट ‘पिक–अप’ लिएको छ।
अन्त्यमा, तपाईंको व्यक्तिगत सन्देश के छ?
स्वस्थ शरीरले स्वस्थ सोच ल्याउँछ र स्वस्थ सोचले समाज परिवर्तन गर्छ। फिटनेस केवल सौन्दर्यका लागि होइन, जीवनका सबै पक्षमा सन्तुलन ल्याउन हो। सबैलाई सन्देश दिन चाहन्छु– ‘फिट रहनुस्, सकारात्मक सोच राख्नुस् र खुसी बाँड्नुस्। स्वास्थ्य भनेको केवल रोग नहुनु होइन, मन, शरीर र आत्माको सन्तुलन हो। हामी यही सोचका साथ फिटनेसलाई वेलनेस र माइन्डफुलनेससँग जोड्दैछौं।’