काठमाडौं। गत शुक्रबारदेखि विभिन्न माग राखेर काठमाडौं उपत्यका आउने सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण पाँचदेखि ठप्प पारिएको छ।
थरीथरीका माग राख्दै विभिन्न निर्माणाधीन, निर्माण चरणमा रहेका र निर्माण भइसकेका आयोजना बन्द गर्ने अन्यत्रको सिको पछ्याउँदै हेलम्बुका स्थानीयले वडा–१ अम्बाथानमा रहेको सुरुङबाट आउने पानीमा डोजर लगाएर मुहान बन्द गरेका गरेका हुन्।
सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढीपीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयले माग पूरा गर्नुपर्ने नाममा काठमाडौं आउने पानी नै बन्द गरिदिएपछि उपत्यकामा खानेपानी अभाव देखिन थालिसकेको छ।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवीबीच २०८१ असोज २१ मा आफूहरुसँग भएको १० बुँदेमध्ये एउटा पनि कार्यान्वयन नभएकाले बाध्य भएर मुहानको सुरुङ बन्द गर्नुपरेको सरोकार समिति सदस्य विष्णु खड्काले बताए। माग पूरा गर्ने नाममा खानेपानीको मुहानै थुन्नुपर्ने कारणबारे भने उनले केही जवाफ दिएनन्।
आइतबार खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी सचिव प्रमिलादेवीको संयोजकत्वमा मेलम्ची पीडित संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल र युवा सहभागी छलफलमा यसअघिका सहमति कार्यान्वयन कसरी गर्ने भनेर छलफल भएको र आज पुनः बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
आइतबारे वार्ता प्रधानमन्त्री र अर्थमन्त्रीसँग थप छलफल गरेर सोमबार बस्ने गरी टुंगाइएको थियो। प्रधानमन्त्री कार्यालय एवं अर्थमन्त्रीबीचको छलफलपछि खानेपानी सचिव प्रमिलादेवी र संघर्ष समितिबीच आजका लागि वार्ता समय तोकिएको खड्काले जनाए।
संघर्ष समितिले हालसम्म मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको खर्च सार्वजनिक गर्न, मेलम्ची क्यूल हुँदै आम्बाथान मेलम्ची घ्याङ जाने सडक कालोपत्रे गर्न, पानीको लेबी निर्धारण गरेर २५ प्रतिशत रकम मेलम्चीबासीलाई फिर्ता दिन, मेलम्ची र हेलम्बुका स्थानीयलाई १५ प्रतिशत रोजगारी कोटा निर्धारण गर्न, केयूकेल र मेलम्ची आयोजनामा १५ प्रतिशत रोजगारी आरक्षण गर्नुपर्ने माग संघर्ष समितिले अगाडि सारेको छ।
मेलम्ची पानी काठमाडौं आउन अवरोध भएपछि भौतिक, पूर्वाधारमन्त्री कुलमान घिसिङले हेलम्बु पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि वार्तामा बसेर समाधान निकाल्न आग्रह गरेका थिए।