काठमाडौं। तनहुँको मादी नदीमाथि नेपालकै पहिलो चार लेनको पुल निर्माण पूरा हुन ३० प्रतिशत बाँकी छ। नेपालमै पहिलो एउटै स्ल्याबमा २३ मिटर चौडाई भएको चार लेनको पुल निर्माण कार्य पूरा हुन ३० प्रतिशत मात्रै बाँकी रहेको हो।
कूल ३१८ मिटर लामो चार लेनको पुल निर्माण गर्न कुल लगात एक अर्ब २१ करोड रुपैयाँ रहेको छ। निर्माणाधीन पुलको भौतिक प्रगति हाल करिब ७२ प्रतिशत भएको सडक विभागअर्न्तगत पर्ने मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी ई. विष्णु प्रसाद पाण्डेले बताए। अब २८ प्रतिशत भौतिक काम बाँकी रहेको छ।
उनका अनुसार वित्तीय प्रगति ७० प्रतिशत भएको छ। ठेक्काको म्याद पहिलो पटक थप भई आगामी २०८३ असार १९ गतेसम्म कायम गरिएको छ। ‘डिजाइनको स्वीकृति हुनलाई छ सात महिना ढिलो भएको थियो। तीन वर्षभित्र त्यो डिजाइन र निमार्ण काम सक्नुपर्ने थियो,’ उनले भने, ‘ठेक्काको म्याद पहिलो पटक थप भई आगामी २०८३ असार १९ गतेसम्म कायम गरिएको छ। यो समयसम्म काम सकिन्छ।’
यो पुल नेपालको पूर्वाधार विकासमा एउटा कोसेढुंगा साबित हुनेछ। ३१८ मिटर लम्बाईको पुलमा एक साथ चार लेनमा गाडी गुड्न सक्ने छन्। यसको कुल ६ वटा स्प्यानमध्ये चार वटा आरसीसी बक्स गर्डर र बाँकी दुई वटा नेटवर्क आर्क डिजाइनका छन्।
पुलको मर्मत सम्भार अवधि पाँच वर्ष रहेको छ। हालसम्म पुलका मुख्य संरचनाहरूको काम सम्पन्न भइसकेको छ।
पुलको मुख्य विशेषता डिजाइन बिल्ड कन्ट्र्याक्टअन्तर्गत निर्माण भइरहेको छ। सरकारले सैद्धान्तिक डिजाइन दिएपछि सम्पूर्ण विस्तृत डिजाइनको जिम्मेवारी निर्माण व्यवसायी स्वयंले लिएका छन्। डिजाइनको प्राविधिक पक्षसम्मको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ।
पुलको मर्मत सम्भार अवधि पाँच वर्ष रहेको छ। हालसम्म पुलका मुख्य संरचनाहरूको काम सम्पन्न भइसकेको छ। अनक जे.आई.सी र जे.भी.-नेपाली र चाइनिज संयुक्त ठेकेदारले निर्माण कार्यलाई तीव्रता दिएका छन्। पुलको कुल ६ वटा स्प्यानमध्ये हालसम्म ४ वटा स्प्यानको काम सकिएको छ र बाँकी रहेका दुई वटा स्प्यान सुरु भइसकेको छ।
‘लजिकल्ली भ्याउने टाइम बाकी राखेर मात्रै गर्नु पर्ने भएर दसैँपछाडि दुइटा स्प्यानको काम सुरु भताभट भइरहेको छ,’ उनले भने। ठेकेदार अनुभवी भएकाले प्राकृतिक अवरोध नआएमा तोकिएको समयभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ। यो पुलमा दुईतर्फी डबल लेन, बीचमा मेडियन र दुवै साइडमा फुटपाथसहितको सुविधा हुनेछ।
वर्षायामका कारण नदीमा पानीको बहाव बढेकाले काममा केही ढिलाइ भएको छ। तर, मनसुन सकिएलगत्तै बाँकी रहेका दुई स्प्यान र एप्रोचको काम सुरु भइसकेको योजनाले जनाएको छ।
मादी नदीबाटै बालुवा र गिट्टीको स्रोत उपलब्ध भए पनि गुणस्तरको सुनिश्चितताका लागि बस्तीपुरबाट पनि ढुंगा ल्याएर मिश्रण गरी प्रयोग गरिएको छ।