काठमाडौं। २०७४ देखि नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्टट्रयाक) साढे ८ वर्षमा ४३.६६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
‘आयोजनाको २०८२ असोजसम्मको समष्टिगत भौतिक प्रगति ४३.६६ प्रतिशत र समष्टिगत वित्तीय प्रगति ४४.८९ प्रतिशत (मोबिलाइजेसनसहित) रहेको छ’, सेनाबाट तयार द्रुतमार्गको प्रगति विवरणमा उल्लेख छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले द्रुतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको थियो।
द्रुतमार्ग निर्माणमा २०८२ असोजसम्म ८२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ। यसमा जग्गा खरिद गर्न १ अर्ब ६५ करोड, निर्माण व्यवसायीलाई ८२.३७ करोड र विद्युत् प्राधिकरणका लागि दिइएको पेस्की ९.८१ करोड रुपैयाँसमेत रहेको सेनाले बताएको छ।
परिमार्जित विस्तृत आयोजना प्रतिवेदनबमोजिम द्रुतमार्ग आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ। ‘आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गतका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा छ’, प्रगति विवरणमा भनिएको छ।

सेनाका अनुसार प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन सकेको छैन।
हालसम्म स्वीकृत डीपीआरबमोजिम खोकना–डुकुछाप इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १३९–१५–३–० र गुठीका जग्गा १४–१३–०३ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको सेनाको भनाइ छ।
द्रुतमार्ग आयोजनाअन्तर्गत ७ वटा सुरुङमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर छ। तीमध्ये धेद्रे सुरुङ र लेनडाँडा सुरुङको ब्रेकथ्रु भइसकेको छ। महादेवटार सुरुङ र चन्द्रामभीर सुरुङ खन्ने काम चलिरहेको छ। देवचौर सुरुङ, सिसौटार सुरुङ र मौरीभीर सुरुङको पोर्टलको कार्य भइरहेको छ।
द्रुतमार्ग आयोजनाका ८९ पुलमध्ये ८५ पुल निर्माण ठेक्का सम्झौता भई निर्माणचरणमा छ। निर्माणाधीन अधिकांश पुलको ‘फाउन्डेसन’ सम्पन्न भई ‘सुपर स्ट्रक्चर’को काम भइरहेको छ ।
द्रुतमार्गका ५३ पुलको फाउन्डेसन निर्माण पूरा भएको छ। ३१ स्थानका पुलको सुपरस्ट्रक्चर तथा ६ स्थानका पुलको सबस्ट्रक्चरसम्मका काम भएको सेनाको प्रगति विवरणमा उल्लेख छ।
आर्थिक वर्ष २०७४÷७५ मा सुरु दु्रतमार्ग २०८१ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणजस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको छैन।
नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना निर्माण लम्बाएर २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर छ।