काठमाडौं । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको छ । नेपाल राष्ट्र बैंकले बैशाखमा ४० अर्ब ६० करोड रुपैयाँ उठाउने भएको छ ।
विकास ऋणपत्र बिक्रीबाट ३५ अर्ब, ट्रेजरी विलबाट ५ अर्ब २० करोड र वैदेशिक रोजगार वचतपत्रबाट ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यद्यपी रोजगार वचतपत्रको अवधि असारसम्म तोएिको छ । राष्ट्र बैंकले चैतमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।
बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले खरिद गर्न पाउन छन । ३ वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको साँवाफिर्ता २०८० वैशाख ८ गते फिर्ता हुने छ ।
सरकारले चालु आर्थिक वर्षमा तय गरेको क्यालेन्डरअनुसार आन्तरिक ऋण उठाएको हो । दोस्रो त्रैमाशमा वैदेशिक वचतपत्र बिक्री गरेर २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।सरकारले आउँदो असारसम्म १४० अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ ।
आगामी त्रैमाशमा ट्रेजरी विलबाट ६५ अर्ब, विकास ऋणपत्रबाट ७० अर्ब, नागरिक वचतपत्रबाट ४ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट ४० करोड रुपैयाँ उठाउने लक्ष्य सरकारको छ ।
चालु आर्थिक वर्ष २०७६०७७ को दोश्रो त्रैमासमा २० प्रतिशत, तेश्रो त्रैमासमा ४० प्रतिशत तथा चौथो त्रैमासमा ४० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्य लिएको हो । यसमध्ये १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्न स्वीकृति भएअनुसार सोको बिक्री खुला गरिएको छ ।
सरकारले ट्रेजर विल, विकास ऋणपत्र, नागरिक वचतपत्र र वैदेशिक रोजगार वचतपत्र गरी ४ ओटा वित्तीय औजार प्रयोग गरेर आन्तरिक ऋण उठाउँदै आएको छ । सरकारका वित्तीय औजारहरु बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले खरिद गर्दै आएका छन ।
चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट बनाएको छ । जसमध्ये ९ खर्ब ८१ अर्ब १३ करोड रुपैयाँ राजश्व परिचालन, ९७ अर्ब ९९ करोड वैदेशिक अनुदान, २ खर्ब ९८ अर्ब ८३ करोड वैदेशिक ऋण र यसबाट पनि अपुग भएपछि १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको हो ।
कोरोना महामारी विश्वभरी फैलिएकाले द्धिपक्षिय मुलुकबाट नेपालले सहयोग पाउने संभावना न्युन छ । एसियाली विकास बैंक (एडीबी) विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सरकारलाई २२ अर्ब रुपैयाँ सहुलियत ऋण दिने घोषणा गरिसेका छन । यस्तै एसियन इन्फास्ट्रक्टर डेभलपमेन्ट बैंकल पनि सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।
अर्थ मन्त्रालय र विश्व बैंकबीच तत्कालका लागि साढे ३ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको छ ।गत माघसम्म सरकारको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्य आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।