काठमाडौं। नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मंसिर २ देखि ५ सम्म अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ।
काठमाडौंमाआयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकासँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए।
‘सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ’, उनले भने।
उनका अनुसार सम्मेलनमा ३५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २०० बढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञको सहभागिता रहनेछ।
सम्मेलनले नेपालको कर र वित्त व्यवसायीको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तर्राष्ट्रिय अभ्यास आदनप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ। यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले बताए।
सम्मेलनमा विकासशील देशको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौती, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रुपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीको आचारसंहिता एवं व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ।
सम्मेलनको आकर्षणका रुपमा मंसिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घन्टा लामो सेमिनार आयोजना हुनेछ।
सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एसोसिएसनको समन्वयमा सञ्चालन हुनेछ। नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको हो।
संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ।