काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ तल्लो विन्दुमा पुगेपछि अमेरिकी डलर झनै बलियो भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलरमा उछाल आएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार १ डलर बराबर १२२.७६ रुपैयाँ बिक्री दर तोकेको छ । या हालसम्मको सर्वाधिक दर हो । विश्व बजारमा तेलको भाउ घटेर प्रतिव्यारेल १४.३५ डलरमा झरेको छ ।
तेलको भाउ घटेर तल्लो विन्दुमा पुग्दा डलर भयो बलियो, नेपाली मुद्रा १३.२५ रुपैयाँ कमजोर
यो हालसम्म कै सर्वाधिक न्युन मूल्य हो । कोरोना महामारीले विश्व नै बन्द (लकडाउन) भएपछि तेलको मागमा भारी गिरावट आउँदा मूल्य पनि घटेर तल्लो विन्दुमा पुगेको छ ।
भारु कमजोर भएर १ डलर बराबर ७६ रुपैयाँ ७४ पैसा पुगेको छ । नेपाल र भारतबीच स्थिर विनिमयदर (फिक्सपेग) भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि पर्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
१० महिनाको अवधिमा डलरसंग नेपाली मुद्रा १३ रुपैयाँ ४० पैसा कमजोर भएको छ । तेलको भाउ ओरालो लागेपछि डलर बलियो भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन । विश्व बजारमा तेलको माग ज्यादै न्युन भएपछि मूल्य घटेर तल्लो विन्दुमा आउँदा डलर मजवुत हुन पुगेको उनको भनाई छ ।
‘तेलको बढी खपत गर्ने भारत र चीनलगायत विश्व नै ठप्प भएको छ । तेलका माग नबढुन्जेलसम्म डलर माथिनै गइरन्छ’ उनले भने ‘कोरोना भाइरस संक्रमण महामारीले उद्योग व्यवसाय क्षेत्र बन्द हुँदा विश्वमा तेलका मागमा भारी कटौती भएको हो ।’ पछिल्लो समयमा अमेरिकी अर्थतन्त्र प्रतिको विश्वास बढेका कारण डलर मजवुत देखिएको उनको भनाई छ ।
सन २००८ को विश्व आर्थिक मन्दीपछि अमेरिकाको अर्थतन्त्र कमजोर भएको थियो । सन २०१३ पछि लगानी अमेरिकातिर फिर्ता जान थालेको हो । भारत र चीनलगायत उदयीमान अर्थतन्त्रमा आएको लगानी पुनः अमेरिकातिर फर्केको उनले जानकारी दिए ।
एक महिनाका बीचमा भारत र चीनलगायत उदयीमान मुलुकहरुबाट १०० अर्ब डलर लगानी पुन अमेरिकातिर गएको उनले सुनाए ।
कोरोना भाइरसले अर्थतन्त्रलाई कमजोर बनाएका बेला डलर बलियो हुँदा मूल्यवृद्धिमा चाप पर्ने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन । डलर बलियो हुँदै जानु नेपाली अर्थतन्त्रका लागि थप चुनौति भएको उनको तर्क छ ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ ।
हाल मुलुक लकडाउनमा भएकाले निकासी बन्द छ । यस्तै विश्वव्यापी महामारीले रेमिट्यान्स आप्रवाह ठप्प छ । डलर बढ्दा पनि यी दुई क्षेत्रले लाभ लिन सक्ने अवस्था छैन ।
यसैगरी आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।